काठमाडौं, ४ भाद्र । परिवार स्वास्थ्य महाशाखाकी निर्देशक डा. पुष्पा चौधरीले दोहोरो सुविधा लिएको भनी परेको उजुरीमाथि अनुसन्धान जारी छ । निर्देशक डा.चौधरीले दोहोरो सुविधा उपभोग गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता कृष्णहरि पुस्करले उनीमाथि परेको उजुरीको सम्बन्धमा अनुसन्धान गरिरहेको जानकारी दिए । सो विषयमा अनुसन्धान भइरहेकाले अनुसन्धानलाई असर पार्ने गरी केही बोल्न नमिल्ने उनले बताए । उनले भने, ‘अनुसन्धान भइरहेको थाहा पाएको छु । निर्णयमा पुगेपछि जानकारी गराउनेछौँ ।’
डा. चौधरीले परिवार स्वास्थ्य महाशाखाकी निर्देशक भइसकेपछि स्त्री तथा प्रसूति रोग विशेषज्ञको पेसागत संगठन (नेसोग) र सोहीसम्बन्धी अन्तर्राष्ट्रिय संगठन (फिगो) को सहकार्यमा सञ्चालित परिवार स्वास्थ्यसँग सम्बन्धित पिपिआइयुडी कार्यक्रमको संयोजक भई मासिक करिब एक लाख पचास हजार (पन्ध्र सय अमेरिकी डलर) लिँदै आएको खुल्न आएको थियो ।
सो विषयमा नेसोगले निर्देशक चौधरीलाई स्पष्टीकरणसमेत मागेको छ । निर्देशक चौधरीले इमेलमार्फत नेसोगका पदाधिकारीलाई धम्काउने गरे पनि स्पष्टीकरणको जवाफ भने नदिएको स्रोतले बताएको छ । नेसोगका पदाधिकारीलाई सम्पर्क गर्दा आधिकारिक निकायले जानकारी लिन खोजेमा उपलब्ध गराउने र त्यसपछि मात्रै सञ्चारमाध्यामबाट सार्वजनिक गर्ने बताए । यस सम्बन्धमा नेसोगले स्वास्थ्य सेवा विभाग तथा स्वास्थ्य मन्त्रालयमा पनि निर्देशक चौधरीको विषयमा स्पष्टीकरणको बोधार्थ पठाई मन्त्रालय र विभागको स्पष्ट धारणा माग गरेकोे छ । स्वास्थ्य मन्त्रालयले पनि उनीमाथि परेको उजुरीका सम्बन्धमा अनुसन्धान भइरहेको मन्त्रालयका सूचना अधिकृत ऋषिराम पंगेनीले जानकारी दिए । उनले भने, ‘मन्त्रालयमा पत्र आएको थियो । अहिले यस विषयलाई लिएर अनुसन्धान भइरहेको छ ।’
स्रोतका अनुसार नेसोगले सञ्चालन गर्न लागेको पिपिआइयुडी कार्यक्रम देशका लागि आवश्यक भएको भन्दै मन्त्रालयले उनलाई परिवार स्वास्थ्य महाशाखाको निर्देशक रहुन्जेल संयोजन गर्नु भनी निर्णय गरेको थाहा हुन आएको छ । उनले कार्यक्रम स्वीकृतिका लागि दिएको आवेदनमा आपूm पिपिआइयुडी कार्यक्रमको संयोजन गर्ने उल्लेख गरेकी छन् । तर, त्यसमा पारिश्रमिकबारे उल्लेख नगरे पनि उनले सो कार्यक्रमबाट मासिक एक लाख ५० हजार बुझ्दै आएकी छन् । तर, अहिले उनले उपभोग गर्दै आएको सुविधा विवादमा परेपछि नेसोगले उनको तलब रोक्का गरेको स्रोतले बताएको छ ।
प्रतिक्रिया