नाना काठमाडौं आउँदै

nana patekarमुम्बई । करिब २५ वर्षपछि फिल्म निर्देशनमा फर्किने तयारीका लागि चर्चित बलिउड अभिनेता नाना पाटेकर काठमाडौं आउने भएका छन् । नाना आफूले निर्देशन गर्न लागेको दोस्रो नाम नराखिएको फिल्मको सुटिङस्थल अवलोकनका लागि नेपाल आउन लागेका हुन् । निर्देशनमा फर्किन लागेका नानाले प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) सँग कुरा गर्दै उक्त कुरा बताएका हुन् । उनले भने, ‘म एउटा फिल्म निर्देशन गर्दै छु जून एउटा जीवनीमा आधारित हुनेछ । फिल्म एउटा केटीको जीवनवरिपरि घुम्नेछ । म सुटिङस्थलको खोजीमा छिट्टै हिंड्ने तयारीमा छु । म काठमाडौं जाँदै छु ।’

नानाले आफू अभिनीत फिल्म ‘अब तक ५६’को तेस्रो शृखंला निर्देशन गर्ने चर्चा चलेको थियो । सो हल्लालाई खारेज गर्ने क्रममा उनले काठमाडौं आउन लागेको खुलासा गरेका हुन् । यद्यपि, उनी कहिले काठमाडौं आउने भन्नेचाहिँ खुलाएका छैनन् ।

आफ्ना योजनाबारे बोल्दै नानाले थपे, ‘म आफ्ने निर्माण कम्पनी सुरु गर्दै छु । मेरो छोरोले फिल्म बनाउनेछ । हामी गम्भीर किसिमका फिल्म बनाउने छौँ ।’ नाना सन् १९९१ मा ‘प्रहार (द फाइनल एट्याक)’ फिल्मबाट निर्देशक बनेका थिए । त्यसयता उनले कुनै फिल्म निर्देशन गरेका छैनन् । फिल्ममा नाना स्वयंका अलावा माधुरी दीक्षित, डिम्पल कम्पाडियाको अभिनय रहेको थियो । उनको ‘वेलकम ब्याक’ फिल्म सेप्टेम्बर ४ मा रिलिज हुँदै छ । (एजेन्सी)

प्रतिक्रिया