काठमाडौं, २ भदौ। विजया दशमीमा प्रदर्शन मिति तोकेको चलचित्र परदेशीको ट्रेलर, गीत र फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । विदेशी भूमिमा कमाउनका लागि जाने महिलाको कथामा निर्माण भएको चलचित्र परदेशीलाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । यो उनको दोस्रो चलचित्र हो । चलचित्र ‘गोर्खापल्टन’ मार्पmत रायमाझीले निर्देशनमा डेब्यु गरेका थिए । लगानीमा रायमाझीलाई राजेश वंशलले पनि साथ दिएका छन् ।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै निर्देशक रायमाझीले चलचित्र परदेशी हरेक नेपालीको कथा रहेको बताए । उनले भने, ‘चलचित्र परदेशीलाई हामीले नेपालीको चलचित्र बनाएका छौँ, नेपाली दाजुभाइ, दिदीबहिनीको व्यथा बिसाएका छौँ त्यसैले चलचित्र परदेशीलाई ‘गोर्खापल्टन’ चलचित्र जसरी नै साथ दिनुहुनेछ भन्नेमा हाम्रो टिम पूर्ण विश्वस्त रहेको छ ।’
सोही कार्यक्रममा बोल्दै चलचित्रकी नायिका रजनी केसीले पनि चलचित्र परदेशीलाई दर्शकले मन पराउने दाबी गरिन् । केसीले ‘लोफर’ पछि चलचित्र खेल्ने या नखेल्ने अन्यौल भइरहेको बेला निर्देशकका तर्फबाट आएको प्रस्तावलाई नकार्न नसकेर खेलेको बताइन् । निर्माता राजेश वंशलले फिल्मले दर्शकलाई मनोरञ्जनसँगै सामाजिक सन्देश पनि दिने बताए ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, संविधानविद् डा. भिमार्जुन आचार्य, निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय, प्राविधिक संघका अध्यक्ष मनोज केसीलगायतले परदेशीलाई सफलताको शुभकामना दिए ।
प्रतिक्रिया