काठमाडौं, २ भदौ । दरबारमार्गमा अवस्थित ‘मधुशाला’ रेस्टुरेन्टपछि गायक उदय सोताङले दोस्रो रेस्टुरेन्ट ‘मधुशमा’ सञ्चालनमा ल्याएका छन् । नाइटलाइफका लागि गन्तव्य बनिरहेको झमेलमा उनले नयाँ रेस्टुरेन्ट सञ्चालनमा ल्यााएका हुन् । ‘मधुशमा’ भदौ १ गतेदेखि प्रारम्भ भएको हो । उदय यस रेस्टुरेन्टका प्रबन्ध निर्देशक हुन् । रेस्टुरेन्टको शुभारम्भ सञ्चारकर्मी भूषण दाहाल र वरिष्ठ गायक दीप श्रेष्ठले केक काटेर गरेका थिए ।
प्रत्येक साँझ साढे पाँच बजेबाट सुरु हुने रेस्टुरेन्टले विभिन्न परिकारका साथै सांगीतिक खुराकसमेत पस्कनेछ । यहाँ नेपाली युगल गायनका चर्चित जोडी उदय र मनिला सोताङले प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन् ।
अक्सर आफ्नो सोलो गीति एल्बममा ‘म’ शब्दबाट नाम जुराउने उदयले रेस्टुरेन्टको नाममा पनि सोही शब्दबाट सुरु हुने नाम जुराएका हुन् ।
मधुशमामा उदय र मनिलासँगै अर्का चर्चित गायक सुरेशकुमारले पनि गाउनेछन् । ‘तिमी मेरो जिन्दगीको किरण’, ‘प्रिये तिम्रो सम्झना’ जस्ता उनका गीत निकै चर्चित छन् । पूर्ण पारिवारिक वातावरण, आकर्षक इन्टेरियर, सांगीतिक प्रस्तुती र फरक स्वादका परिकार यो रेस्टुरेन्टको विशेषता हुने उदय बताए । पर्याप्त पार्किङ सुविधायुक्त यस रेस्टुरेन्टमा ९० जनासम्मको सिट क्षमता छ । रेस्टुरेन्टको मेनुमा मौलिक नेपाली परिकारदेखि, इन्डियन, चाइनिज तथा कन्टिनेन्टल परिकार उपलब्ध छ ।
प्रतिक्रिया