सुर्खेतमा तेस्रो दिन पनि कर्फ्यु

सुर्खेत, २७ साउन । जिल्ला प्रशासन कार्यालय सुर्खेतले बुधबार तेस्रो दिन पनि कर्फ्यु जारी गरेको छ ।
आन्दोलन उग्र हुनसक्ने भन्दै स्थानीय प्रशासनले बिहान ११ बजेदेखि साँझ ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । सीमांकनमा अखण्ड मध्यपश्चिमको माग गर्दै सदरमुकाम वीरेन्द्रनगरमा तीन दिनदेखि आन्दोलन जारी छ ।
प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले आन्दोलन नियन्त्रणभन्दा बाहिर नजाओस् भन्दै कर्फ्यु आदेश जारी गरेको बताए । स्थानीय प्रशासनले कफ्र्यु जारी गरे पनि आन्दोलनकारी बिहानैदेखि आन्दोलनमा उत्रेका थिए । यद्यपि अरू दिनभन्दा बुधबारको आन्दोलन शान्तिपूर्ण थियो । आन्दोलनकारीले बिहानैदेखि प्रदर्शन जारी राखेका छन् । आन्दोलनका कारण यहाँ बजार, शिक्षणसंस्था, सरकारी कार्यालय र यातायात ठप्प थियो । आन्दोलनका क्रममा प्रहरीको गोली लागी वीरेन्द्रनगरमा गत सोमबार तीन जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया