काठमाडौं, १७ साउन । नेपाल चलचित्र प्राविधिक संघले यसपटक कतारमा आयोजना गर्न लागेको आठौँ संस्करणको नेफ्टा अवार्डमा फिल्म ‘टलकजंग भर्सेस टुल्के’ र ‘जेरी’ सर्वाधिक विधाका लागि मनोनयनमा परेका छन् । संघले शनिबार सार्वजनिक गरेको मनोनयन सूचीअनुसार टुल्के १५ र जेरी १२ विधाको मनोनयनमा परेका छन् । यी दुई चलचित्रपछि ‘कबड्डी’ र ‘लज्जा’ समान ८ विधामा मनोनयनमा परेका छन् ।
‘टलकजंग भर्सेस टुल्के’ मनोनयनको ‘उत्कृष्ट फिल्म’, ‘निर्देशक’, ‘वर्षको लोकप्रिय फिल्म’, ‘अभिनेता’, ‘अभिनेत्री’, ‘पटकथा’, ‘संवाद’, ‘कला निर्देशन’, ‘सम्पादन’लगायत १५ विधामा परेको छ भने ‘जेरी’ले ‘उत्कृष्ट फिल्म’, ‘लोकप्रिय फिल्म’, ‘निर्देशक’, ‘अभिनेता’, ‘छायांकन’, ‘सम्पादन’, ‘पटकथा’लगायतमा १२ विधामा मनोनीत भएको छ ।
अवार्डमा ‘जेरी’, ‘कबड्डी’, ‘लज्जा’, ‘नोभेम्बर रेन’ र ‘टलकजंग भर्सेस टुल्के’ उत्कृष्ट फिल्मका लागि प्रतिस्पर्धा गर्दै छन् । निर्देशनतर्फ ‘नोभेम्वर रेन’का लागि दिनेश राउत, ‘जेरी’का लागि हेमराज बिसी, ‘लज्जा’का लागि नवल नेपाल, ‘टलकजंग भर्सेस टुल्के’का लागि निश्चल बस्नेत र ‘वान वे’का लागि सुरज सुब्बा प्रतिस्पर्धी छन् । ‘उत्कृष्ट नायक’मा आर्यन सिग्देल ‘नोभेम्बर रेन’, दयाहाङ राई ‘कबड्डी’, जीवन लुइँटेल ‘स्टुपिड मन’, खगेन्द्र लामिछाने ‘टलकजंग भर्सेस टुल्के’ र सौगात मल्ल ‘उत्सव’ बीच भीडन्त हुँदै छ । नायिकामा केकी अधिकारी ‘श्री ५ अम्बरे’, नम्रता श्रेष्ठ ‘नोभेम्बर रेन’, नन्दिता केसी ‘लोग्ने मान्छे’, प्रियंका कार्की ‘नाई नभन्नू ल ३’ र ऋचा शर्मा ‘टलकजंग भर्सेस टुल्के’ प्रतिस्पर्धी छन् ।
कार्यक्रममा बोल्दै जुरी संयोजक नारायण पुरीले विभिन्न मत भिन्नता रहे पनि सूक्ष्म अध्ययन गरेर मनोनयन सार्वजनिक गरिएको बताए । अर्का जुरी भरत शाक्यले अवार्डमा फिल्म हेर्दा नेपाली फिल्मको विकास भएको आभाष भएको जनाउँदै संवाद, लेखनमा अझै मिहिनेत गर्नुपर्ने बताए । संघका अध्यक्ष मनोज केसीले आफूहरूले नेपाली फिल्मको विकासका लागि नै अवार्ड आयोजना गर्दै आएकाले चित्त नबुझेका कुरा अगाडि आएर भन्न र पछि बसेर कुरा नकाट्न आग्रह गरे । अन्तर्राष्ट्रिय कलाकार मञ्च कतारसँग सहकार्य गर्दै नेफ्टाले कतारमा यो वर्ष अवार्ड आयोजना गर्न लागेको हो । यसअघि नेफ्टा अवार्ड नेपालबाहिर मलेसिया र हङकङमा आयोजना भैसकेको छ ।
प्रतिक्रिया