काठमाडौं, १२ साउन । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानको प्रारम्भिक मस्यौदामा नागरिकबाट आएको सुझावलाई गम्भीरतापूर्वक लिई त्यसलाई सम्बोधन गर्ने प्रक्रिया सुरु भइसकेको बताएका छन् ।
नेपाल कानुन समाज र इन्टरनेसनल आइडियाद्वारा आज राजधानीमा आयोजित मस्यौदा संविधानको प्रमुख विशेषता र नागरिक सुझाव विषयक कार्यक्रममा उनले मस्यौदामा जनताको अपार सहभागिताले साउन ३१ गते संविधान जारी गर्ने अठोटलाई अनुमोदन गरेको बताए ।
अरु प्रक्रिया छोट्याएर भए पनि सभासद्लाई छलफलका लागि पर्याप्त समय प्रदान गर्ने बताउँदै सभाध्यक्ष नेम्वाङले भने, ‘द्रुतमार्गबाट संविधान जारी गर्ने सन्दर्भमा विधि, प्रक्रिया, स्थापित मूल्य मान्यता र आवश्यक समयका बारेमा कुनै सम्झौता हुनेछैन ।’
जनताको राय सुझाव सङ्कलनसमेतका आधारमा संविधान लेखन प्रक्रिया अन्तिम चरणमा पुगिसकेको उल्लेख गर्दै उनले साउन मसान्तभित्र संविधानसम्बन्धी काम टुङ्गयाउन सक्छौँ भन्ने लक्ष्यका साथ अघि बढिरहेको बताए ।
पूर्व सभासद् खिमलाल देवकोटाले प्रमुख चार दलबीच भएको १६ बुँदे सहमति र मस्यौदाबीच तालमेल नभएको, अघिल्लो संविधानसभाले गरेको उपलब्धि र भएको सहमतिलाई पन्छाउने काम भएको जनाउँदै जनताले दिएका राय सुझावलाई आधार मानेर मस्यौदा परिमार्जन नगर्ने हो भने जनताबाट सुझाव लिएको कुनै अर्थ नरहने तर्क गरे ।
प्रतिक्रिया