आलोकको अन्तिम चलचित्र ‘अझै पनि’ अमेरिकामा

aalok-nembangकाठमाडौं । निर्देशक आलोक नेम्बाङको अन्तिम चलचित्र ‘अझै पनि’को विदेश प्रदर्शन अमेरिकाबाट हुने भएको छ । ०७१ फागुन १५ गते रिलिज भएको आलोकद्वारा निर्देशित अन्तिम चलचित्र ‘अझै पनि’ले अमेरिकाबाट आफ्नो विदेश प्रदर्शन सुरु गर्ने भएको हो ।

१५ अगस्टमा अमेरिकाको ओमाहा, नेब्रास्कामा चलचित्र प्रदर्शन हुने टुंगो लागेको छ । ओमाहा, नेब्रास्कामा हुने प्रदर्शनको जिम्मेवारी एनएनएस सोसाइटीले लिएको छ । चलचित्रलाई अमेरिकाभर प्रदर्शनका लागि राज आचार्यले जिम्मा लिएका छन् । नेब्रास्काको प्रदर्शनपछि अमेरिकाका अन्य विभिन्न सहरमा पनि प्रदर्शनमा आउने आचार्यले बताए ।
‘अझै पनि’ विशुद्ध सामाजिक कथामा बनेको चलचित्र हो । चलचित्रले काँठ क्षेत्रको रहनसहन, सोच तथा नारीको संवेदना एवं सिन्दूर–पोतेको महत्वलाई प्रकाश पार्छ । आफूले निर्देशन गरेको चलचित्र प्रदर्शनमा नआउँदै निर्देशक नेम्बाङको निधन भएको थियो ।
चलचित्रलाई सुदर्शन थापा प्रोडक्सन तथा पुनम इन्टरटेनमेन्टको ब्यानरमा पुनम गौतम र सुदर्शन थापाले निर्माण गरेका हुन् ।
चलचित्रमा सुदर्शन थापा, पूजा शर्मा र सुरक्षा पन्तको पमुख भूमिका देख्न सकिन्छ भने पुष्प खड्का, प्रमिला खनाल, विशाल ढुंगाना, विजय लामा, बिपना धिमाल, मिथिला शर्मा, रामशरण पाठकलगायतले पनि अभिनय
गरेका छन् ।
रामशरण पाठकको लेखनमा बनेको ‘अझै पनि’मा महेश खड्का, हरि लम्साल, राजनराज सिवाकोटी तथा सचिन सिंहको संगीत रहेको छ । चलचित्रलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् । विदेश प्रदर्शनका लागि तीन नयाँ पोस्टर सार्वजनिक भएको चलचित्रका सञ्चार संयोजक जीवन पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया