काठमाडौं, ८ साउन । अब बन्ने संंविधानमा साहित्य कला पछाडि ‘राष्ट्रिय चलचित्र’ पनि थप्नुपर्ने चलचित्रकर्मीले सुझाव दिएका छन् । सभामुख सुवासचन्द्र नेम्वाङ तथा राजनीतिक संवाद समितिका संयोजक डा. बाबुराम भट्टराईलाई भेटी उनीहरूले यस्तो सुझाव पेस गरेका हुन् ।
उनीहरूले मस्यौदा संविधानमा रहेको धारा ५५ (ग) को (६) मा उल्लेख भएको व्यवस्थाअनुसार साहित्य कला भन्ने शब्द पछाडि ‘राष्ट्रिय चलचित्र’ समावेश गर्न सुझाव दिएका छन् ।
कलाकारहरूसँगको भेटमा सभामुख नेम्वाङ यो विषयमा आफ्नो ध्यानाकर्षण भएको र सम्बन्धित समितिमा कुरा राख्ने आवश्वासन दिएको नेपाल चलचित्र संघका अध्यक्ष नवल खड्काले जानकारी दिए । यस्तै, डा. भट्टराईले ‘राष्ट्रिय चलचित्र’ भन्ने शब्दलाई समावेश गर्न कोशिस गर्ने बताएको पनि उनले जनाएका छन् ।
सुझाव पेस गर्न चलचित्रकर्मीहरू यादव खरेल, रविन्द्र खड्का, लय संग्रौला, लक्ष्मी गिरी, रामकेशर बोगटी, उत्तम केसी, नवल खड्कालगायतका कलाकार पुगेका थिए । यस्तै, लक्ष्मण शेष, हेमन्त शर्मा, योगेन्द्रमणी दाहाललगायतले ‘आफ्नो बौद्धिक सम्पत्तिको संरक्षणको स्पष्ट व्यवस्था होस्’ भनेर सुझाव दिएका छन् ।
प्रतिक्रिया