पुख्र्यौली पेसा जोगाउँदै चन्द्रबहादुर

Kamiताप्लेजुङ, ३१ असार । घरमै बसेर कृषि औजारहरू निर्माण गर्दैमा दिन बित्छ चन्द्रबहादुरको । फलामका सामग्री निर्माण गर्ने तथा पुराना सामग्री अर्जापेर धारिलो बनाउने कामबाट निघुरादिन–७ ताप्लेजुङका चन्द्रबहादुर दियालीले मनग्ये आम्दानी गरिरहेका छन् ।

घरमै बसीबसी आम्दानी गर्न सकिने भएपछि पुख्र्यौली पेसालाई अझ निरन्तरता दिने चन्द्रबहादुर बताउँछन् । यतिबेला गाउँमा फलामका सामग्री निर्माण गर्ने आरनहरू लोप भइरहेका बेला उनको यो प्रयासले विश्वकर्माहरूको पुख्र्यौली पेसाको जगेर्ना भएको छ ।
उनका बुबा मानबहादुर देवालीले आरनमा काम गर्दा निघुरादिन गविसमै आठ आरन थिए । अहिले आएर गाविसमा दुई वटा मात्रै राम्रो सञ्चालनमा छन् । युवा पुस्ताको यस पेसामा आकर्षण घट्नु, विदेश पलायन हुनु, कृषि पेसा गर्नेको संख्या घट्नुजस्ता कारणले फलामका सामग्री निमार्ण गर्ने व्यवसाय घट्दै गएको चन्द्रबहादुरको बुझाइ छ ।
गाउँमा खुकुरी बनाउनेदेखि हँसिया, खुर्पा, काँटा, कुटो, कोदाली निर्माण गर्ने राम्रो सीप छ चन्द्रबहादुरसँग । उनले बनाएका फलामका हातहतियार र कृषि सामग्रीले दुई जिल्लाका आधा दर्जन गाउँमा बजार पाएको छ । निघुरादिन गाविससँगै पूmलबारी, हाङ्पाङ र छिमेकी जिल्ला तेह्रथुमको ह्वाकु, इवा, संक्रान्ति तथा खाम्लालुङ गाविसदेखि पनि हँसिया, खुर्पा, खुकुरीलगायतका कृषि सामग्री बनाउन आफ्नो आरनमा आउने गरेको चन्द्रबहादुरले बताए ।
आरन सञ्चालन गर्नका लागि उनीसँग पुरानो भाटी छ । भाटीमा हाल्ने कोइलाको अभावका कारणले यस पेसालाई नियमित गर्न सकिँदैन । जंगलमा ढलेका र कुहिएका पात, कटुस तथा सालको रुखको मात्र कोइला बन्ने हुँदा रुखहरू पाउन पनि सजिलो नभएको उनले बताए । एक डोको कोइला तयार पार्न दुई दिनसम्म लाग्ने तर त्यसले दुईदिन पनि नथाम्ने हुँदा कोइला निर्माणमै समस्या रहेको उनको भनाइ छ ।
‘म दुई दिनमा एउटा खुकुरी बनाइसक्छु त्यसको मूल्य गाउँमै तीन हजार पाँच सयसम्म पर्ने गर्दछ, यसले मेरो परिवारलाई धानेर पनि बचत हुने गरेको छ’ चन्द्रबहादुरले भने । आगोमा फलाम तताएर घनले पिट्नुपर्ने भएकोले कहिलेकाहीँ जोखिमसमेत हुने गरेको उनी बताउँछन् । तातो फलामले हातहरू डाम्ने तथा पोल्ने गरेकोले यो पेसा जोखिमपूर्ण भएको उनी बताउँछन् । यद्यपि, सुधारिएको आरन राख्नसके यस्ता समस्याबाट केही मुक्त हुने दियालीको भनाइ छ ।
रोजगारीको खोजीमा युवा विदेश पलायन भइरहेका बेला चन्द्रबहादुर देवालीले भने कृषि औजार निर्माण गरी गाउँमै आम्दानी गरिरहेका छन् । उनकोजस्तो यी र यस्तै सीप यही भूमिमा पोख्न सके आम्दानीका थुप्रै बाटाहरू भेटिन्छन् ।

प्रतिक्रिया