काठमाडौं, २७ असार । एकीकृत माओवादीका नेता अग्निप्रसाद सापकोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल केही सहयोगी बाहेक महत्वपूर्ण नेताहरूलाई साथ नलिई भारत भ्रमणमा जाने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘अध्यक्ष ज्यू सामान्य सहयोगी बाहेक अरु कुनै पनि नेतालाई साथमा नलिई एक्लै भारत भ्रमणमा जाने कुरा भएको छ ।’
सापकोटाले संविधान निर्माणको लागि १६ बुँदे सहमति भएर संविधान निर्माण प्रक्रियाअघि बढीसकेको अवस्थामा भ्रमण सम्बन्ध सुधारमा मात्र केन्द्रित हुने जानकारी दिए ।
उनले पहिलादेखि भारतले निम्तो दिए पनि समय नभ्याएकोले अहिले संविधान निर्माण प्रक्रिया अघि बढीसकेको समयमा भ्रमणको अवसर मिलेको बताए ।
तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले आफूहरुले उठाएको जायज मागलाई बेवास्ता गरे मुलुक जातीय द्वन्द्व हुँदै विखण्डन तिर जाने चेतावनी दिए ।
उनले संविधानको पहिलो मस्यौदा अन्तरिम संविधान भन्दा तल झरेको गुनासो गर्दै अन्तरिम संविधानको भावनाअनुसार सहमतिमा संविधान जारी हुनु पर्ने धारणा राखे ।
प्रतिक्रिया