घाइते राउतको उपचारमा अस्पतालमा हेलचेक्राइ

Jaleshwor-Hospitalमहोत्तरी, २२ असार । महोत्तरीको जलेश्वर अस्पतालमा विगत १२ दिनदेखि उपचाररत विजलपुरा–३ का मदन राउतको निधन भएको छ ।

गत असार १० गते महोत्तरीको इटहर्वाकट्टी–७ मा सडक दुर्घटनामा परी गम्भीर घाइते भई उपचार गराइरहेका राउतको आज बिहान साढे ७ बजे निधन भएको हो ।

जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रेको एवम् अन्यलाई बोलाउँदा आर्थिक समस्याका कारण उनलाई अन्यत्र पठाउन नसकेपछि निधन भएको जिल्ला अस्पताल स्रोतले जनाएको छ ।

बिरामीको टाउकोमा भएको घाउ गन्हाएको र उनी अचेत अवस्थामा रहेकोमा अस्पताल कर्मचारीले समेत केही हदसम्म हेला गरी सरसफाइमा गम्भीरता नदेखाएको स्थानीयले आरोप लगाएका छन् ।

राउतको जिल्ला अस्पताल जलेश्वरमा ‘डि ५५’ दिनको तीन पटक, मेगापेन एक ग्राम दिनको तीन पटक, जेनटामाइसिन दिनको एक पटक र मेट्रोन सय एमएल दिनको तीन पटक दिएर राखेका थिए ।

प्रहरीको खोजबिनमा निजकी दिदी र भिनाजु बिजलपुरा–३ मै रहेको थाहा भएको छ ।

आफन्तसँग सम्पर्क हुन नसक्दा राउतको बेवारिसे शवलाई दागबत्ती दिने आफन्तको खाँचो भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया