काठमाडौं, १८ असार । अन्तर्राष्ट्रिय चाङ होन तेक्वान्दो महासंघ नेपालका प्राविधिक निर्देशक तथा साङरोक नेपाल तेक्वान्दो एकेडेमीका अध्यक्ष एवं निर्देशक दिनेश शर्मा अमेरीकाको न्युयोर्कमा आयोजित तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट रेफ्री घोषित भएका छन् । १३ असारमा पेनाज तेक्वान्दो एकेडेमीद्वारा आयोजित १३ औँ द ब्याटल अफ द च्याम्पियन्स अफ द अमेरिकाज् नामक अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा रेफ्रीको उत्कृष्ट भूमिका निर्वाह गरी अमेरिकामा समेत चर्चामा आएका छन् ।
मेक्सीको, क्यानडा, भारत, पेरु, पेर्टोरीको, इक्वेडर र डोमिनिकन रिपब्लिक गरी सात देशले भाग लिएको उक्त प्रतियोगितामा २ सय बढी खेलाडी थिए भने अमेरिका, क्यानडा, पेरु र नेपालगरी जम्मा २० जना मात्र रेफ्री छनोटमा परेका हुन् । नेपालबाट एक जना मात्र छनोटमा पर्न सफल शर्माले सबै देशलाई उछिन्दै उत्कृष्ट रेफ्रीसमेत बन्न सफल भए ।
९ जेठमा अमेरिका पुगेका दिनेश शर्माले पेनाज तेक्वान्दो एकेडेमीका खेलाडीलाई दुई सातासम्म विशेष तेक्वान्दो तालिमसमेत दिए । उक्त एकेडेमी प्रतियोगिताको प्रथम टिम बन्न सफलसमेत भयो । दिनेशले अमेरिका रहन्जेल विभिन्न क्लबमा गएर खेलाडीलाई विशेष तालिम दिने तथा अन्तर्राष्ट्रियस्तरमा नाम कमाएका ग्रान्डमास्टरबाट आपूले अझ नयाँ कुरा सिक्ने बताएका छन् । प्रशिक्षक शर्मालाई अमेरिकामा बस्नका लागि त्यहाँका क्लब एवं नेपाली संघसंस्थाले सघाइ रहेका छन् ।
सानै उमेरमा प्रशिक्षकमा आपूलाई अब्बल सावित गरिसकेका दिनेश शर्माले राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा प्रशिक्षक एवं रेफ्री र जुरीको भूमिका निर्वाह गरिसकेका छन् । खेलाडी जीवनमा समेत राष्ट्रियस्तरको ४ वटा प्रतियोगितामा उनी पहिलो भएका थिए ।
राष्ट्रिय खेलकुद परिषद् नेपालबाट सन् २०१० मा ३ महिने सहायक प्रशिक्षक कोर्समा प्रथम श्रेणीमा उत्तीर्ण भएका शर्मा त्यतिमा मात्र सीमित छैनन् । उनले सन् २०११ मा नेपाली मार्सल आर्टस्को सर्वोच्च संस्था नेपाल नेसनल मार्सल आर्ट गेम्स कमिटीबाट प्रशिक्षक वर्ष २०१० को उपाधिसमेत चुमे ।
तेक्वान्दोको विकास र विस्तारमा उल्लेख्य योगदान गरेका कारण धेरै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघसंस्थाबाट सम्मानित भइसकेका प्रशिक्षक शर्मालाई केही महिनाअघि वीरगञ्ज उपमहानगरपालिकाले १९ औँ नगरपरिषद्बाट १० हजार रुपैयाँसहित सम्मानसमेत गरेको थियो ।
प्रथम दक्षिण एसियाली मार्सल आर्ट फेस्टिवलमा नेपालबाट तेक्वान्दोमा प्रशिक्षक भूमिका सफल रूपमा निर्वाह गरेका कारण पउनलाई सम्मान गरेको हो । उक्त प्रतियोगितामा उनका क्लब साङरोक नेपाल तेक्वान्दो एकेडेमीका २ खेलाडीले समेत दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए । परम्परागत र आधुनिक तेक्वान्दोमा विशेष दख्खल राख्ने प्रशिक्षक शर्माले अन्तर्राष्ट्रिय परम्परागत तेक्वान्दो महासंघ (आइटिटिएफ) को अन्तर्राष्ट्रिय ‘ए क्लास रेफ्रि’ र प्रशिक्षकको लाइसेन्स प्राप्त गरिसकेका छन् ।
इटालीबाट सन् २०११ मा अल स्टाइल कम्ब्याटमा अन्तर्राष्ट्रिय प्रशिक्षक कोर्स गरेका प्रशिक्षक शर्माले विश्व तेक्वान्दो महासंघ र कुकिवानबाट सम्बन्धन प्राप्त साङरोक विश्व तेक्वान्दो एकेडेमी दक्षिण कोरीयाबाट सन् २०१२ मा ‘तेक्वान्दो कोचिङ्ग क्याम्प’मा सहभागी भई आफ्नो कुशल प्रतिभा देखाइसकेकाछन् ।
उनले नेपाल एवं अन्य देशमा विश्वका चर्चित ग्रान्डमास्टरले दिइएको तेक्वान्दोका विभिन्न सेमिनार तथा कोर्समा आधा दर्जनभन्दा बढीको संख्यामा सहभागी जनाइसकेका छन् । सन् २०१३ मा दक्षिण कोरियाबाट अन्तर्राष्ट्रिय रेफ्री एवं कोचिङ क्याम्पमा सहभागिता जनाएका प्रशिक्षक शर्माले त्यसैको फलस्वरूप अन्तर्राष्ट्रिय ‘ए क्लास रेफ्री’र प्रशिक्षकको प्रमाणपत्रका साथै पाँचौँ डान ब्ल्याक बेल्ट प्राप्त गरी कुशल प्रशिक्षकको रूपमा आपूलाई अब्बल सावित गरेका छन् ।
शर्माले सन् २०१४ मा बंगलादेशको ढाकामा आयोजित बंलादेश नेपाल तेक्वान्दो फ्रेन्डसिप सेमिनारमा प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । उनले तेक्वान्दोमा गरेको योगदानको उच्च कदर गर्दै युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले उनलाई ‘सर्टिफिकेट अफ अनर’ २०१४ बाट सम्मानसमेत गरेका थिए ।
प्रतिक्रिया