हिजो (मंगलबार) साँझ साँझतिर एक अपरिचित बाले दैलोमा आएर भन्नुभो, “मेलम्चीदेखि आको नानी ! बैसाख २९ को भुइँचालोले अलिलि चर्काको घर भत्केर पुरो मलाई । घाइते भा’थें, टिचिन अस्पतालाँ निकै दिन बसेर उपचार गरियो । घरफिर्ती पैसो नभ’र सहयोग माग्दै हिँड्या !“
उफ ! मनले त चाह्यो उहाँको घर फर्कन लाग्ने बसभाडामा अझ केही रकम थपेर राम्रै सहयोग गरौं । तर अचेल पैसाले अलि गारोगारै छ, हात फुकाएर फुर्मासी खर्च गर्न नसोंचे हुन्छ मैले । बडो अप्ठ्यारिँदै एक सयको नोट बालाई दिएर बिदा गरें, दिल खोलेर उहाँलाई सहयोग गर्न नपाएकोमा लज्जित बनें ।
भूकम्पपिडीतलाई मैले सहयोग गरेको भनेको त्यै हिजो दिएको सय रुपियाँ र अस्ति नै तीस केजी चामलवाला बोरामा एक बोरा लुगाफाटा (तर लुगाहरु फाटेका, टालेका, झुत्रेथोत्रे र फोहर थिएनन्), बस् त्यति हो मैले यो पाली गर्न सकेको सहयोग !
कुनै बेला यस्तो पनि थियो कि अस्पतालमा आएका बिरामीको दुखका कथा सुनेर बिरामीसँगै आफू पनि रुँदै पाँच सय वा हज्जार रुपैंया ती बिरामीलाई तुरन्तै दिन्थें । त्यस्तो सँधै त हैन तर महिनामा दुई चोटी जस्तो त पक्कै हुन्थ्यो ।
बिरामी नानी जँचाउन जाडोमा कक्रिएर आएकी आमाहरुलाई आफूले लाइराखेको युनिफर्मको स्वेटर फुकालेर लाइदिन दुई पटक सोंच्दिनथें । मैले स्टाफ रुममा सानाठूलालाई लाउन मिल्ने आफ्ना पुराना लुगा र बैनीका नानीहरुका पनि पुराना कपडाहरु एउटा पोकोमा सँगालेर राखेकी थिएँ, हाम्री एक बालविशेषज्ञ डाक्टरले पनि एउटा ठूलो झोलामा साना नानीहरुलाई हुने कपडाहरु राख्नुहुन्थ्यो र ती लुगाहरु ओपिडी अथवा वार्डमा खाँचो परेका बिरामी बच्चालाई जसले पनि दिन सक्थ्यो ।
पुराना लुगा दिएर गरिने सहयोग त अझै पनि म गर्न सक्थें यदि ती बालाई लुगाको जरुरी परेको भए, तर पुग्दो पैसाको सहयोग गर्न नसकेकोमा बडो अपशोच लागिरहेको छ ।
जीवन अचम्मको हुँदोरैछ– कहिले कस्तो कस्तो, कहिले सारै सस्तो !!!
(फेसबुक भित्ताबाट)
प्रतिक्रिया