अल्ट्रा म्याराथनमा मीरालाई सफलता

angar-photoकाठमाडौं, १३ असार । नेपाली अल्ट्रा म्याराथनकी उदियमान धाविका मीरा राईले फ्रान्समा भएको ८० किलोमिटरको दु मोन्ट ब्लंक चामोनिक्स म्याराथन–२०१५ को उपाधि जितेकी छिन् ।

विश्वका उत्कृष्ट अल्ट्राधावक र धाविकाले मात्र प्रतियोगितामा सहभागी हुने अवसर पाउँछन् । शुक्रबार राति सम्पन्न ८० किलोमिटरको दु मोन्ट ब्लंक म्याराथनमा प्रथम भएकी राईले निर्धारित दूरी १२ घन्टा ३३ मिनेट ३२ सेकेन्डमा पूरा गरिन् ।
स्पर्धामा स्पेनकी अन्ना कोमिट पास्कुए द्वितीय, अमेरिकाकी हिलारी एलिन तृतीय भइन् । कोमिटले निर्धारित दूरी पार गर्न १२ घन्टा ५४ मिनेट ५५ सेकेन्ड लगाइन् । ६० किलोमिटरसम्म अन्ना अगाडि रहे पनि राईले उत्कृष्ट पुनरागमन गर्दै उपाधि हात पारिन् ।
राईले यसअघि एसियन अल्ट्रामा च्याम्पियनसिप र चीनमा भएको चाइना डोङ लिमा उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई यो प्रतियोगितामा अवसर पाएकी हुन् । प्रतियोगितामा लामो र छोटो दूरीका एक हजार ५ सय अल्ट्राधावक र धाविकाको सहभागिता थियो । प्रतियोगितामा महिलातर्फ विश्वका उत्कृष्ट १५ धाविकाले सहभागी हुन पाउने नियम छ ।
राईले यसअघि हङकङमा भएको ५० किलोमिटर एसिया स्काइ रनिङ च्याम्पियनसिप, किङ अफ द हिल, ५० किलोमिटरको अल्ट्रासिरिज र इटालीमा भएको ५७ किलोमिटर र ८३ किलोटिर अल्ट्रा म्याराथनमा उपाधि जितेकी थिइन् ।
उनले यो उपाधि सन् २०१४ र ०१५ मा मात्र जितेकी हुन् । हङकङमा भएको ५० किलोमिटर दौडमा उनले १७ वर्ष पुरानो विश्व रेकर्डसमेत भंग गरेकी थिइन् । भोजपुरमा जन्मिएकी राई पूर्वलडाकू पनि हुन् । यसअघि सन् २०१३ मा ५० मिलोमिटरको पुल्चोकी अल्ट्राम्याराथन जितेपछि राईको जीवनले नयाँ मोड लिएको थियो । कराते प्रशिक्षक ध्रुवविक्रम मल्लको सहयोगमा उनले खेल करियर सुरु गरेकी हुन् ।
उनले खेल करियरमा पहिलो राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता दुवैमा स्वर्ण पदक हात पारेकी थिइन् । खेल जीवनको दुई वर्षमै विश्वका विभिन्न म्याराथनका पदक जितेपछि उनको चर्चा विश्वको म्याराथनको क्षेत्रमा निकै भएको थियो । जसको फलस्वरूप उनको जीवन संर्घषबारे अलजजिरालगायत अन्तर्राष्ट्रिय टेलिभिजनले प्रसारण गरेका थिए ।
नेपालका तर्फबाट विश्वमा उनीभन्दा निकै सफलता हात पारेका पुरुष अल्ट्राधावक समीर तामाङ हुन् । उनले विश्व अल्ट्राधावकको सूचीमा नेपालको ¥यांकिङमा निकै सुधार गरिसकेका छन् ।

प्रतिक्रिया