प्रहरीको फुटबल टिमलाई टेलिकमको प्रायोजन

NT-Police-1काठमाडौं, १२ असार । नेपाल टेलिकमले शुक्रबार नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमलाई एक वर्षका लागि प्रायोजन सम्झौता सम्पन्न गरेको छ । टेलिकमले ०७१ पुस १५ देखि लागू हुने गरी एक वर्षसम्मका लागि प्रहरीको पुरुष तथा महिला फुटबल टिमको मुख्य प्रायोजकको रूपमा रहने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रायोजनवापत टेलिकमले प्रहरीको पुरुष फुटबल टिमलाई १६ लाख रुपैयाँ र महिला फुटबल टिमलाई ६ लाख रुपैयाँ गरी कुल २२ लाख रुपैयाँ वार्षिक प्रायोजन ग-यो ।

टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमको सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र नेपाल प्रहरी केन्द्रीय खेलकुद समितिका अध्यक्ष तथा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले हस्ताक्षर गरे । सो कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक आचार्यले प्रहरी महानिरीक्षक अर्याललाई कम्पनीको लोगो अंकित जर्सी र फुटबल हस्तान्तरण गरे ।
उक्त अवसरमा कार्यक्रममा आचार्यले नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फुटबल खेललाई प्राथमिकतामा राखेर नेपाल पुलिस क्लबलाई प्रायोजन गरिरहेको बताए । प्रहरी महानिरीक्षक अर्यालले ०८ सालदेखि निरन्तर रूपमा फुटबल खेलमा क्रियाशील क्लबको नाताले पनि नेपाल प्रहरीले क्लबका खेलाडीलाई निरन्तर रूपमा उच्च मनोबलका साथ खेलाउने प्रयास गरिरहेको धारणा व्यक्त गरे । साथै अर्यालले प्रायोजनवापत प्राप्त रकम विशुद्ध रूपमा खेलको विकास र खेलाडीको सुविधामा खर्चिने बताए ।
त्यसैगरी, टेलिकम व्यापार व्यवस्थापन विभागका नायवप्रबन्धक निर्देशक सुभाषचन्द्र साहले दुई संस्थाबीच लामो समयदेखि सहकार्य हुँदै आएको बताए । साथै शाहले नेपाल प्रहरीको पुरुष फुटबल टिमलाई ०६८ सालदेखि र महिला फुटबल टिमलाई ०७० सालदेखि निरन्तर प्रायोजन गरिरहेको जोड दिए ।
सो कार्यक्रममा टेलिकमका नायवप्रबन्धक निर्देशक, नेपाल प्रहरी केन्द्रीय खेलकुद समितिका सदस्यसचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र सिंह भण्डारी, वरिष्ठ प्रहरी अधिकृत, पूर्वराष्ट्रिय खेलाडी हरि खड्का, क्लबका पुरुष तथा महिला खेलाडीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया