महोत्तरीमा दादुरा रोगको प्रकोप

गौशाला, ९ असार । चर्को घामसँगै अत्यधिक गर्मीका कारण महोत्तरी जिल्लाका विभिन्न गाउँ–ठाउँमा दादुरा रोगको प्रकोप देखा परेको छ ।

जिल्लामा बदलिँदो मौसमसँगै आएको हावाहुरी र प्रचण्ड घामका कारण हावापानी दुषित भई विभिन्न गाविस तथा नगरपालिकामा दादुराका रोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

दादुरा रोग विशेषगरी स–साना बालबालिकामा देखा परेका छन् भने युवायुवती, वयश्क तथा बुढापाका समेतमा यस रोगका लक्षण देखा परेको चिकित्सकले बताएका छन् ।

सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पताल तथा जिल्लाका विभिन्न गाविसस्थित स्वास्थ्य र उपस्वास्थ्य चौकीमा अहिले दादुराका रोगी आउने क्रम बढेको जनाइएको छ ।

जिल्लाको तीन नगरपालिका जलेश्वर, गौशाला, बर्दिवाससहित गाविस बथनाहा, हलखोरी, नैन्ही, सुगा, सिमरदही, पिगाँैना, परिकौली, भ्रमरपुरा, औरही, हाथीलेट, किसान नगर, विजरपुरा, लोहारपट्टीलगायतका ठाउँमा दादुरा रोगको प्रकोप देखिएको छ ।

महोत्तरीका धेरैजसो गाउँ ठाउँमा दादुरालाई देवीको रूप भनेर यसको इलाज उपचार गराउँदैनन् भने यो रोग रहुन्जेल घरका मानिसले तेल नखाने, नलगाउने र तेलले भुटेका खानेकुरा नखाने चलन रहेको छ ।

दादुरा लागेका बालबालिका तथा अन्य व्यक्तिलाई कतैकतै त देवीदेवता मानेर दैनिक धूप, आरती र पूजाआजा समेत गर्ने गरेको देखिन्छ ।

सरसफाईको अभावमा विशेष गरी गरिब परिवारमा हुने दादुरा रोग महोत्तरीमा प्रत्येक वषझैं यसवर्ष पनि गरिब दलित वस्तीका हरेक घरपरिवारलाई विस्तारै छुँदै गइरहेको जिल्लावासीले बताएका छन् ।

जिल्लाको ग्रामीण वस्तीमा प्रायःजसो दादुरा रोगको रोगीलाई उपचार गराउने चलन छैन भने एक हप्तापछि आफैँ निको हुने गर्दछ । तर सरुवा रोग हुनाले एकपछि अर्को व्यक्तिमा सर्दै गइरहेको देखिएको छ ।

प्रतिक्रिया