जनकपुरधाम, ८ असार । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभाभन्दा उच्च निकाय अन्य कुनै नभएको बताएका छन् ।
उनले संविधानका बारेमा चार शक्तिद्वारा गरिएको सहमतिका पक्षमा सबैलाई समेट्नु जरुरी रहेको बताए ।
प्रेस चौतारी नेपाल धनुषा शाखाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले १६ बुँदे सहमतिका सन्दर्भमा अदालतद्वारा गरिएको आदेश संविधानसभाको गरिमा, स्थान र नियमावलीभन्दा पृथक रहेको टिप्पणी गरे ।
‘संविधान निर्माणका लागि भएको नयाँ सहमतिको वातावरणमा एक अर्कालाई दोषारोपण नगरी सबैको बीचमा विश्वास, मन र चित्त बुझाउने प्रयास गर्नुपर्छ’, नेता नेपालले भने ।
‘राष्ट्रिय राजनीति सकारात्मक दिशातर्फ गइरहेकाले अनिश्चितताको भुमरीलाई तोड्दै नयाँ ढङ्गले अगाडि बढ्नु जरुरी छ’, उनले भने, ‘संघीयता ओझेलमा नपरोस् भन्ने कुरालाई गम्भीरतापूर्वक लिई संविधान छिटो जारी गर्नेतर्फ प्रयास हुनुपर्छ ।’
प्रतिक्रिया