काठमाडौं । वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि झन्डै डेढ महिनासम्म गुमनाम बनेको फिल्म प्रदर्शनको माहौल अब विस्तारै तात्दै गएको छ ।
वैशाखको दोस्रो साता रिलिजको तयारीमा रहेका फिल्महरूले नयाँ मिति घोषणा गर्दै आफ्नो प्रवद्र्धनको अभियानलाई तीव्र पारिरहेका छन् । यसै क्रममा निर्माता एवं नायक कपिल खत्रीले निर्माण गरेको फिल्म ‘वान साइड लभ’ ले असार १८ गतेलाई फिल्म रिलिजको मिति तोक्दै प्रचारप्रसार अभियानलाई तीव्रता दिएको छ ।
निर्माता खत्रीले आफूले जोखिम उठाउनकै लागि भए पनि फिल्म रिलिजको तयारी गरेको बताए । ‘काम गरेपछि केही जोखिम त उठाउनैपर्छ । सधैँ डराएर मात्रै हुँदैन,’ उनले भने, ‘फिल्मले एकोहोरो मायाप्रेम र त्यसको परिणाम तथा एकोहोरो मायाले निम्त्याउने घटनालाई प्रस्तुत गरेको छ ।’ यसअघि फिल्म जेठ ८ मा आउने तयारी गरिरहेको थियो ।
करिब ३२ लाख रुपैयाँमा निर्माण गरिएको फिल्म परिवारका सबै सदस्यले सामूहिक रूपमा हेर्न मिल्ने बनेको खत्रीको दाबी छ । ‘हामीले मुख्यतया एकतर्फी मायाको कथा र कमेडीलाई मिश्रण गरेर फिल्म बनाएका हौँ, यो फिल्म परिवारसँगै बसेर हेर्न मिल्छ साथै टिनेजरका साथीहरूका लागि शिक्षाको माध्यम पनि बन्ने आशा छ,’ खत्रीले थपे ।
फिल्मको छायांकन धादिङ र काठमाडौंमा गरिएको छ । नेपालका ६० भन्दा बढी हलमा प्रदर्शन हुने फिल्मले भूकम्पले मानिसको खुसी, मनोरञ्जन खोसेको बेला दर्शकलाई पूर्ण मनोरञ्जन दिने नायक तथा निर्माता खत्रीको विश्वास छ ।
फिल्ममा नायक तथा निर्माता कपिल खत्री, नायिका सविना कार्की, राज सोनाम, सुशील पाखरेल मुख्य भूमिकामा देखिएका छन् । यसअघि चलचित्र ‘वान साइड लभ’ जेठ ८ गते प्रदर्शनमा आउने तयारी थियो । (सौस)
प्रतिक्रिया