भलपाराइसो, ५ असार । १० खेलाडीमा सीमित बनेको भेनेजुएलालाई पराजित गर्दै पेरुले कोपा अमेरिका फुटबल प्रतियोगितामा पहिलो तथा महत्वपूर्ण जित हात पारेको छ । समूह ‘सी’ अन्तर्गत शुक्रबार बिहान स्टेडियो इल्फास फिगोरिया भलापराइसोमा भएको आफ्नो दोस्रो खेलमा पेरुले भेनेजुएलालाई १–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक बटुल्यो । पेरु पहिलो खेलमा ब्राजिलसँग २–१ ले पराजित भएको थियो । जितसँगै पेरुले अर्को चरणमा पुग्ने सम्भावना कायमै रहेको छ ।
पेरुको जितसँगै समूह ‘सी’ मा सबै टोलीको समान तीन अंक हुँदा अर्काे चरण पुग्ने सबैको सम्भावना देखिएको छ । समूह चरणको सोमबार हुने पेरुले कोलम्बिया तथा ब्राजिल र भेनेजुएलाविरुद्वको अन्तिम खेलमा खेलले नै अर्काे चरणमा पुग्ने टोलीको टुंगो लाग्नेछ ।
निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा भेनेजुएला २९औँ मिनेटमा नै १० खेलाडीमा सीमित बनेको थियो । फर्नान्डो अमरिविटाले विपक्षी खेलाडी पालो गुनेरोलाई खराब ट्याकल गरेपछि रेफ्रीले सिधै रातो कार्ड देखाएको थियो ।
१० खेलाडीमा सीमित भए पनि भेनेजुएलालले बेलाबेलामा गोलका मौकाहरू सिर्जना गरेको थियो । दोस्रो हाफमा पेरुले निकै उत्कृष्ट खेल पस्कियो । उसले दोस्रो हाफमा भेनेजुएलाको पोस्टमा बारम्बार आक्रमण बुने पनि गोल गर्न ७२औँ मिनेटसम्म कुर्नुपरेको थियो । पेरुका क्लाउडियो पिजारोले ७२औँ मिनेटमा गोल गरे । एलेसान्द्रो गुरेराले छिटो गरी लिएको फ्रि–किकमा पिजारोले भेनेजुएलाका डिफेन्स लाइनले क्लियर गर्न नसकेको बललाई गोलमा परिणत गरेका थिए । त्यसपछि पनि पाएका अवसरमा पेरुले गोल गर्न सकेन । पिजारोको गोल नै निर्णायक बन्यो ।
हारपछि भेनजुएलाका प्रशिक्षक भिनोटिन्टो टोलीको प्रदर्शन सन्तुष्ट रहेको बताए । ‘यदि ११–११ जना भएको भए खेल हाम्रो पक्षमा हुने थियो ।’ हारपछि पोस्ट म्याच कन्पे्रसमा भिनोटिन्टोले भने, ‘भाग्यले पनि साथ दिएन । यो नतिजापछि ब्राजिल अंक तालिकाको शीर्षस्थानमा तथा समान तीन अंक भए पनि पेरु दोस्रो स्थानमा छ । यस्तै भेनेजुएला चिली क्रमशः तेस्रो र चौथो स्थानमा छ । भेनेजुएलाको पहिलो खेलमा कोलम्बियालाई पराजित गरेको थियो ।
भेनेजुएलाविरुद्वको महत्वपूर्ण जितसँगै पेरु अंक तालिकाको दोस्रो स्थानमा उक्लियो । ब्राजिल गोल अन्तरको आधारमा शीर्ष स्थानमा छ । तालिकामा भेनेजुएला तेस्रो स्थानमा झर्दा कोलम्बिया चौथो स्थानमा रहेका छन् ।
प्रतिक्रिया