काठमाडौं, ३१ जेठ । ‘टाइटल नजितेसम्म राति राम्रो निन्द्रा पनि लाग्दैन’, थ्री–स्टार क्लबका अध्यक्ष ललितकृष्ण श्रेष्ठले राष्ट्रिय लिग समर्थकबीच भन्ने गर्थे । ६० को दशकको सुरुआतमा नेपाली फुटबलले व्यावसियकताको माथिल्लो उचाइ पाएको थियो । आम व्यक्तिमा यो खेल एकाएक लोकप्रिय बन्यो र भिन्न शैलीको ग्ल्यामर भित्रियो । दशरथ रंगशालामा हुने खेलमा पनि युरोपका रंगशालाझैँ तामझाम देखिन थाल्यो र फुटबलमा नयाँ सस्कृतिको सुरुआत भयो । अझ ललितपुरदेखि ग्रामीण भूभाग त एकैपटक फुटबलको नसामा रमाउन थाल्यो । प्रायः प्रतियोगितामा थ्री–स्टार क्लब उपाधिको होडमा रहन थाल्यो ।
पाटन मंगलबजार अवस्थित थ्री–स्टार क्लबको नेतृत्व गर्दै फुटबललाई आम व्यक्तिमा लोकप्रिय बनाउने र टोलीले नजितेसम्म निदाउन पनि नसक्ने तिनै ४९ वर्षीय ललितकृष्ण श्रेष्ठ आफ्ना शुभेच्छुक र समर्थकलाई आँसुमा डुबाउँदै चिरनिन्द्रामा लीन भए । अखिल नेपाल फुटबल संघ(एन्फा)का कार्यबाहक अध्यक्ष श्रेष्ठको शुक्रबार राति आफ्नै निवास भैँसेपाटीमा करेन्ट लागेर निधन भयो । नयाँ घरमा श्रेष्ठले शनिबार सर्ने तयारी गरेका थिए । ललितलाई शनिबार पशुपति आर्यघाटमा परिवार, आफन्त र समर्थकले सदाका लागि बिदा गरे । यसअघि एन्फा कम्प्लेक्स सातदोबाटोमा उनलाई श्रद्धाञ्जली दिइएको थियो ।
संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्बाङ, एमाले अध्यक्ष केपी ओली, कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, राप्रपा नेपालका अध्यक्ष कमल थापा र एमाओवादी नेता नारायणकाजी श्रेष्ठसहित राजनीतिक व्यक्तित्वले श्रेष्ठलाई श्रद्धाञ्जली दिए । सभासद्, राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव, नेपाल प्रहरी र सेनाका अधीकारी, वर्तमान र पूर्वराष्ट्रिय खेलाडी, प्रशिक्षक खेल पत्रकार, ओलम्पियन, अन्य खेलका राष्ट्रिय खेलाडी र फुटबल अधिकारी र समर्थकले उनलाई सातदोबाटोमा श्रद्धाञ्जली दिएका थिए ।
पाटन मंगलबजारमा रामकृष्ण कृष्ण श्रेष्ठ र नानु बाबु श्रेष्ठको कोखबाट २०२८ मा जन्मिएका ललितले थ्री–स्टारको तर्फबाट ए, बी, सी, र डी डिभिजन फुटबल खेलेका थिए । घुँडामा लागेको चोटका कारण उनले खेल जीवन त्याग्दै ०४८ देखि फुटबल प्रशासनमा आफूलाई व्यस्त राखे । ०५३ देखि एन्फाका विभिन्न जिम्मेवारी सम्हाल्दै आएका ललित यसै वर्ष कार्यबाहक अध्यक्ष भएका थिए । सन् २०१३ मा एसियाली फुटबल महासंघले उनलाई एएफसी सर्भिस अवार्ड प्रदान गरेको थियो । श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै फुटबल संघले १३ दिनसम्म देशका कुनै पनि ठाउँमा फुटबलसम्बन्धी गतविधि नगर्ने भएको छ । श्रेष्ठको परिवारमा आमा, श्रीमती र दुई छोरी छन् । कुशल क्लब प्रशासक श्रेष्ठको कार्यकालमा थ्री–स्टार क्लबले दुईपटक राष्ट्रिय च्याम्पियनको ताज पहिरियो । उनको कार्यकालमा थ्री–स्टारले देशभरि गरेर दजर्नौ लिग उपाधि पनि जितेको थियो ।
लगातार तेस्रो कार्यकाल थ्री–स्टार क्लबका अध्यक्ष बनेका ललितकै नेतृत्वमा थ्री–स्टार नेपालमा मात्र नभएर सीमा पारसमेत उत्तिकै लोकप्रिय बनेको थियो ।
मिलनसार स्वभावका श्रेष्ठ खेलाडी, प्रशिक्षक, फुटबल प्रशासक र खेलपत्रकारमा माझ प्रिय थिए । फुटबल प्रशासनमा पकड राख्ने ललित ०५८ देखि नेपाली फुटबलका प्रभावशाली व्यक्तित्वको रूपमा रहँदै आएका थिए । आफ्नो काममा लगनशील र परिश्रमी स्वभावका ललित यसै कारण फुटबल प्रशासनका प्रतीक थिए । क्लबसँगको सम्झौतामा नामको साझेदारी गर्दै प्रयोजकलाई उत्साहित तुल्याउने क्रमको सुरुआत पनि ललितले गरेका थिए ।
लामो समय फुटबलको नेतृत्व सम्हालेका सभासद् गणेश थापाले ललितको निधन नेपाली फुटबलको अपुरणीय क्षति भएको बताए । थ्री–स्टार क्लबका पूर्वकप्तान राष्ट्रिय टोलीका पूर्वमिडफिल्डर प्रदीप महर्जनले नेपाली फुटबलरले कुशल अभिभावक गुमाएको बताए ।
प्रतिक्रिया