काठमाडौं । विभागीय टिम एपिएफ क्लब क्षेत्र–७ जनकपुर नेपाल क्रिकेट संघको सहयोग एवं क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र– ८ पोखराको आयोजनामा पोखरा र चितवनमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शनिबार भएको लिगचरणको अन्तिम खेलमा क्षेत्र– काठमाडौंलाई ६० रनले पराजित गर्दै एपिएफ क्लब समूह ‘ए’ बाट सात अंकसहित सेमिफाइनलमा प्रवेश गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ११५ रनको योगफल तयार पारेको थियो ।
जवाफी ब्याटिङ गरेको काठमाडौं १७.२ ओभरमा अलआउट हुँदै जम्मा ५५ रनमा समेटियो।
अर्को खेलमा क्षेत्र नम्बर एक विराटनगरले क्षेत्र नम्बर पाँच नेपालगञ्जलाई तीन रनले पराजित ग¥यो । टस हारेर ब्याटिङ गरेको विराटनगरले १८ ओभरमा नौ विकेट गुमाउँदै ७३ रन बनाएको थियो । उसका लागि रोमा थापाले चार चौकाको सहयोगमा ३९ बल फाल्दै सर्वाधिक ३१ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । सुरुआतमै ब्याटिङ गर्न आएकी कप्तान काजोल श्रेष्ठ दुई बलमै तिर्सना सिंहको बलमा विकेटकिपर ममता थापाद्वारा क्याचआउट भइन् । बलिङतर्फ नेपालगञ्जका तिर्सना सिंह र गीता गोसाइले तीन–तीन, शर्मिला रोकामगरले दुई तथा प्रतीक्षा जिएमले विराटनगरको एक विकेट लिए । तिर्सनाले चार ओभरमा ११ तथा गीताले तीन ओभरमा पाँच रन दिएर समान तीन विकेट लिएका थिए ।
७४ रनको लक्ष्य पाएको नेपालगञ्ज भने १८ ओभरमा सात विकेट गुमाउँदै मात्र ७० रनमा रोकियो । नेपालगञ्जका गीता गोसाइले एक चौका हान्दै ४३ बलमा नटआउट २९ रन बनाइन् ।
बैतडीको पहिलो जित
चितवनमा भएको खेलमा क्षेत्र नम्वर सात जनकपुर शतप्रतिशत जित निकाल्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । चितवनको क्याम्पाचौरमा शनिबार भएको खेलमा क्षेत्र–९ धनगढीलाई १५ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । जनकपुरले दिएको ८५ रनको लक्ष्य पछ्याएको धनगढीले आठ विकेटको क्षतिमा ६९ रनमा समेटियो । धनगढीका लागि जानकी भट्टले सर्वाधिक १३ बनाइन् । कविता कुवँर १२ रनमा अविजित रहिन् । विमला भट्ट ११ रनमा पभेलियन फर्किइन् । जनकपुरका शान्ति चौधरी र अनुराधा चौधरीले समान दुई–दुई विकेट लिइन् । सरस्वती चौधरी, सन्तोषी चौधरी र कविता गौतमले समान एक–एक विकेट हात पारिन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ८४ रनको सामान्य रन जोडेको थियो । जनकपुरका लागि ममता चौधरीले अविजित ३६ रनको योगदान गरिन् । शोभा आले १२ र अनुराधा चौधरी ११ रनमा पभेलियन फर्किइन् । अन्य ब्याट्सवुमनले दोहोरो अंकको योगफल छुन सकिनन् । धनगढीका लागि कविता कुवँरले तीन तथा निर्मला शाही र सोनु खड्काले समान एक–एक विकेट लिइन् । खेलमा जनकपुरका ममता चौधरी प्लेयर अफ दि म्याच घोषित भइन् । (सौस)
प्रतिक्रिया