ओटावा, ३० जेठ । खेलको अन्तिम समयमा लिसी वाङले निर्णायक गोल गरेपछि क्यानाडामा जारी महिला विश्वकप फुटबल प्रतियोगितामा एसियाली राष्ट्र चीनले पहिलो जित दर्ता गरेको छ ।
शुक्रबार बिहान सकिएको खेलमा चीनले नेदरल्यान्डलाई १–० को झिनो अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्न सफल भएको हो । तुलनात्मक रूपमा नेदरल्यान्डलाई दबाबमा राखे पनि पाएका केही अवसरमा गोल गर्न नसक्दा बराबरीतर्फ धकेलिएको खेलमा लिसी वाङले गोल गर्दै चीनलाई विजयी गराइन् ।
यस्तै, शुक्रबार बिहानै भएको अर्काे खेलमा आइभोरी कोस्टलाई ३–२ ले पराजित गर्दै थाइल्यान्डले पनि प्रतियोगितामा पहिलो जित निकालेको छ । खेलको चौथो मिनेटमा नै एन्गी निगुसानले एक्रोबायोटिक गोल गर्दै आइभोरी कोस्टलाई सुरुआती अग्रता दिलाएका थिए । एक गोलले पछि परे पनि थाइल्यान्डले खेलमा उत्कृष्ट पुनरागमन गर्दै थाइल्यान्डका लागि ओराथाई श्रीमानीले २६औँ मिनेटमा बराबरी गोल फर्कायो । पहिलो हाफको थपिएको समयमा ओराथाईले अर्काे गोल गर्दै खेलमा २–१ को अग्रता बनायो । खेलको ७५औँ मिनेटमा थानाता चावोङले गोल गर्दै खेललाई ३–१ को स्थितिमा पुर्याए ।
खेलको ८८औँ मिनेटमा आइभोरी कोस्टका नाही जोशीले गोल गर्दै अन्तर कम गर्न खोजे पनि त्यो निकै ढिला भइसकेको थियो ।
त्यसपछि खेलमा गोल हुन नसक्दा थाइल्यान्डले अफ्रिकी राष्ट्रविरुद्व ३–२ को जित निकाल्न सफल भयो । यस्तै, आयोजक क्यानाडाले भने न्युजिल्यान्डसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ र उपाधिको दाबेदार जर्मनीलाई नर्वेले एक–एक गोलको बराबरीमा रोक्न सफल भयो । खेलको छैटौँ मिनेटमै जर्मनीले अग्रता लिए पनि ६१औँ मिनेटमा नर्वेले गोल फर्काएपछि खेल १–१ गोलको बराबरीमा सकिएको हो ।
प्रतिक्रिया