काठमाडौं, २९ जेठ । पोखरा र चितवनमा जारी प्रथम प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा जनकपुर र धनगढी विजयी भएका छन् ।
पोखरामा बिहीबार भएको खेलमा क्षेत्र नम्बर ७ जनकपुरले क्षेत्र नम्बर ४ भैरहवालाई ५८ रनले पराजित गरेको हो ।
जनकपुरले दिएको एक सय १८ रनको लक्ष्य पछ्याएको भैरहवाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ५९ रन मात्र बनाउन सक्यो । भैरहवाकी आस्ना थापाले १२ र मेलिना थापाले १० रन बनाउनुबाहेक अन्य ब्याट्स वुमनहरूले दोहोरो अंकको योगफल छुन सकेन । भैरहवाका दुई ब्याट्सवुमनहरू शून्य रनमा नै आउट भइन् । ओपनर वर्षा रानामगर आठ रनमा पभेलियन फर्किइन् । सरस्वाती पुन सात तथा चन्दा सारु छ रनमा नै आउट भइन् । भैरहवालाई सस्तैमा समेट्ने क्रममा शान्ति चौधरीले दुई विकेट लिइन् । यस्तै, सरस्वती चौधरी, सन्तोषी चौधरी, अनुराधा चौधरी र कविता गौतमले समान एक–एक विकेट हात पारिन् ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो । जनकपुरका लागि ममता चौधरीले सर्वाधिक ३४ रनको योगदान गरिन् । अनुराधा चौधरी २५ रनमा सरस्वती चौधरीले रन आउट गराइन् । सरस्वती चौधरी १७ रनमा अविजित रहिन् ।
विमला मगर आठ रन, शोभा आले सात र शान्ति चौधरी पाँच रनमा पभेलियन फर्किए । जनकपुरका पनि दुई ब्याट्स वुमन शून्य रनमै आउट भए । भैरहवाका लागि एलिसा क्षेत्रीले दुई विकेट लिइन् । इन्दु वर्मा, सीमा थापा र वर्षा रानामगरले समान एक–एक विकेट लिइन् । खेलमा जनकपुरकी अनुराधा चौधरी प्लेयर अफ दि म्याच घोषित भइन् ।
यस्तै, बिहिबारै भएको अर्काे खेलमा क्षेत्र नम्बर ९ धनगढी विजयी भएको छ । धनगढीले क्षेत्र नम्बर ६ बैतडीलाई सात विकेटले पराजित गरेको हो ।
बैतडीले दिएको ७४ रनको सामान्य लक्ष्य पछ्याएको धनगढीले निधौरित २० ओभरको खेलमा ११ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । धनगढीको जितमा निर्मला शाहीले २३ रनको अविजित पारी खेलिन् । कविता जोशीले २५ रनको योगदान गरिन् । चाँदनी शाह सात तथा विन्दु रावल चार रनमा आउट भइन् । सम्झना खड्का र सिर्जना रावलले एक–एक विकेट लिइन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैतडीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ७३ रन मात्र बनाउन सक्यो ।
खराब प्रदर्शन गरेको बैतडीका लागि अञ्जली चन्दले १९ रन बनाउनुबाहेक अन्य ब्याट्सवुमनले दोहोरो अंक छुन सकेनन् । मञ्जु बोगटी नौ रनमा सोनु खड्काको बलमा बोल्ड भइन् । त्यसपछि धर्मराएको बैतडीको पारी रेखा रावल र अञ्जली चन्दले सम्हाल्न खोजे पनि रेखा रावल आठ रनमा आउट भएपछि अन्य ब्याट्सवुमनले धनगढीको कसिलो बलिङसामु खुलेर खेल्न सकेनन् । धनगढीका लागि जानकी भट्टले दुई विकेट तथा कविता कुवँर, कविता जोशी, सोनु खड्का र निर्मला शाहीले समान एक–एक विकेट लिइन् । खेलमा एक विकेट लिनुका साथै अविजित २३ रनको योगदान गरेकी धनगढीका निर्मला शाही प्लेयर अफ दि म्याच घोषित भइन् ।
प्रतिक्रिया