टी–ट्वान्टी विश्वकप छनोटका लागि क्रिकेट टोली छनोट

cricketकाठमाडौं, २८ जेठ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरेको छ ।

क्यानले चार जना वैकल्पिकसहित १९ जना खेलाडी प्रतियोगिताका लागि छनोट गरेको हो । आउँदो जुलाई ३ देखि २६ सम्म आयरल्यान्ड र स्कटल्यान्डमा हुने प्रतियोगिताका लागि खेलाडी छनोट गरिएको क्यानका कार्यबाहक अध्यक्ष दीपक कोइरालाले बुधबार विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

छनोटमा पर्ने खेलाडीमा कप्तान पारस खड्का, शरद भेष्वाकर, वसन्त रेग्मी, सोमपाल कामी, करण केसी र सुवास खकुरेल छन् । यस्तै ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, सागर पुन, विनोद भण्डारी, राजेश पुलामी मगर, प्रदीप ऐरी, जितेन्द्र मुखिया, अनिल मण्डल र सिद्धान्त लोहनी पनि छनोटमा पर्न सफल भएका छन् । वैकल्पिक खेलाडीका रूपमा पृथु बास्कोटा, मेहबुब आलम, भुवन कार्की र अभिनाश कर्ण छनोट भएका छन् ।

यसैगरी टिम लिडरमा क्यानका कार्यबाहक अध्यक्ष दीपक कोइराला, टिम मेनेजरमा क्यानका प्रमुख कार्यसञ्चालन अधिकृत छुम्बी लामा, प्रशिक्षकमा पुवुदु दसानायके, टेक्निकल एनेलिस्टमा रमन शिवाकोटी, बलिङ कोचमा बिनोद दास, ब्याटिङ कोचमा भारतका मोन्टी देशाई र फिजियोमा भारतका ऐजाज असई रहेको कार्यबाहक अध्यक्ष कोइरालाले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाली टोली अहिले भारतको धर्मशालामा बन्द प्रशिक्षणमा रहेको छ । (सौस)

प्रतिक्रिया