सोल, २७ जेठ । दक्षिण कोरियामा हालैका दिनमा बढ्दो मात्रामा देखापरिरहेको मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स) को सङ्क्रमणका कारण दक्षिण कोरियाली राष्ट्रपतिले अमेरिकको भ्रमण स्थगित गरेका छन् ।
दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हायले आगामी आइतबारदेखि अमेरिकाको भ्रमण गर्ने कार्यक्रम रहेको थियो । तर उनले हालका लागि सो एकहप्ते भ्रमणलाई पछि सारेको बताइएको छ ।
राष्ट्रपतिको कार्यालयले पछि अर्काे सूचना जारी नहुँदासम्म आगामी आइतबारदेखि सुरुहुन लागेको राष्ट्रपतिको अमेरिका भ्रमण हालका लागि स्थगति गरिएको जनाएको छ ।
राष्ट्रपतिका एक जना वरिष्ठ प्रेस सहयोगी किम सुङ वुले बुधबार राजधानी सोलमा आयोजित पत्रकार सम्मेलनका क्रममा पनि सो समाचारको पुष्टि गरेका हुन् ।
केही हप्तामात्र पहिलादेखि सुरु भएको यस सङ्क्रमणबाट कोरियामा मृत्यु हुने व्यक्तिको सङ्ख्या सात पुगेको छ । यसको सङ्क्रमण प्रतिदिन जारी नै रहँदा हालसम्म यसका सङ्क्रमित बिरामी १०८ जना पुगेका छन् ।
दक्षिण कोरियामा मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम नामको एक भाइरसको सङ्क्रमणबाट कैयांैको ज्यान गएको छ । दुई हप्ता यतामात्र देखिएको सो सङ्क्रमणका कारण त्यहाँको जनजीवनलाई निकै नै प्रभावित तुल्याइसकेको बताइएको छ ।
यस सङ्क्रमणको त्रास फैलिएपछि दक्षिण कोरियामा कम्तीमा पनि दुई हजार विद्यालय बन्द भएका छन् भने हजारौँ स्वास्थ्यकर्मीलाई देश भित्रिने नाकाहरूमा स्वास्थ्य जाँचका लागि राखिएको छ ।
पछिल्लो समयमा आएर यस सङ्क्रमणबाट कोरियाको आर्थिक क्षेत्रमा पनि असर पर्न थालेका समाचारहरु पनि आइरहेका छन् ।
प्रतिक्रिया