आत्म समीक्षासहित कार्यकालको अन्त्य

yubraj-lamaकाठमाडौं, २७ जेठ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव युवराज लामाले आफ्नो चार वर्षे कार्यकालमा ७५ प्रतिशत सफलता पाएको दाबीसहित मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै चार वर्षे कार्यकालको अन्त्य गरे ।

उनको यो दाबीमा प्रतियोगिता सञ्चालन र प्रशिक्षण, पूर्वाधार निर्माण, पुरस्कार वितरण र पद्धति निर्माणका आधारमा आफ्नो कार्यकाल सफल भएको उनको दाबी थियो । तथापि, उनले आफ्नो असफलताको कारणमा अन्य पक्षमा दोष थोपरे पनि तेक्वान्दो युनियन र तेक्वान्दो संघको विवाद, क्रिकेट संघमा देखिएको समस्या र गत इन्चोन एसियाडमा समग्र राज्य पक्षको हार पनि महत्वपूर्ण रहे । लामो समयदेखि हुन नसकेको नेपाल क्रिकेट संघको निर्वाचन गराए पनि संघका पदाधिकारीहरू भ्रष्टाचारमा मुछिएपछि उनले क्रिकेटको सवालमा चुकेको स्वीकारे । उनले क्रिकेट विकास बोर्डको प्रस्ताव अघि सारेर यसलाई सच्याउन खोजेको जनाएका छन् ।
युवराज लामाको कार्यकाल भिन्न कारणले चर्चामा रहे । खासमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलसँग भएको तनावपूर्ण वातावरणले उनको कार्यकाल चर्चामा रह्यो । लामासहित ६ सदस्यको पदावधी सकिएको दाबीसहित मन्त्री पौडेलले पदावधी पूरा भएको घोषणालाई लामाले स्वाभाभिक रूपमा लिए पनि अदालतबाट स्टे अर्डर पाइसकेपछि असहयोग गर्नुलाई संकर्णीताको संज्ञा दिएका छन् ।
एकीकृत नेकपा माओवादीका कोटाबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिवका रूपमा २०६८ जेठ २९ मा पदभार सम्हालेका युवराज लामाले पदभार सम्हालेका थिए । लामा कार्यकालमा भिन्न रूप देखिए । सदाझँ खेलकुदमा आउने शक्तिको चाकडी गर्दै फाइदा लिने प्रवृत्तिको सिकार लामा पनि भए । कर्मचारीतन्त्र र प्रशासनको यो समस्या बुझ्न नै उनलाई लामो समय लाग्यो । खेलकुदमा सरोकार राख्ने यसैखाले प्रवृत्तिको एउटा झुन्डले लामालाई एक वर्षभन्दा बढी समय घेरिरह्यो । लामाको शक्ति सन्तुलन मिलाउने सोचका कारण यो प्रवृत्तिले अत्यधिक फाइदा पनि लियो ।
इन्चोन एसियाडमा राज्यको खेलकुद निकाय असफल भए पछिको पत्रकार सम्मेलनमै लामाले आफूमा केही कमजोरी भएको स्वीकारेका थिए । तथापि, राज्यका खेलकुद निकायका दुई जिम्मेवार व्यक्तित्व परिषद् अध्यक्ष र उपाध्यक्षले राज्यको असफलताको जिम्मेवारी बहन गर्न नसक्नुले तलनात्मक रूपमा लामा उदार देखिए ।
खेलकुदलाई विद्यालय तहदेखि नै विकास गर्नुपर्छ भन्ने मान्यता बोकेका लामाले इन्चोन एसियाडपछि केही राम्रा निर्णय पनि गरे ।
मन्त्रालय चलाए पनि खेलकुद परिषद्को कार्यकारी पद नपाएको सत्तारूढ दल एमालेको विचारमा सहमत राम्रा खेलकर्मीलाई लामाले नै महत्वपूर्ण जिम्मेवारी सुम्पिए । तालिम तथा प्रशिक्षण विभागमा कराते प्रशिक्षक महेन्द्र राइलाई उपनिर्देशक बनाउनु र विद्यालय खेकलुदको जिम्मेवारी दिनुले लामा आफू मिहेनती व्यक्तिको साथ दिन तयार भएको संकेत गरे ।
लामाले चार वर्षे कार्यकालमा नेपाली खेलकुदलाई चलायमान बनाइराख्न सक्नुलाई सफलता मान्छन् ।
सदस्य–सचिवका रूपमा नियुक्ति भएपछि उनले थुप्रै संघको निर्वाचन गराए । ओलम्पिक कमिटीको विवादमा उनको मत सधैँ एकनास रहन सकेन । ढाका सागमा तीन खेलाडी मात्र सहभागी स्पर्धामा पनि पदक गुमाउने प्रशिक्षकलाई तालिम तथा प्रशिक्षण विभागको निर्देशक बनाउने गल्ती लामाले गरे । ग्वान्जाउ एसियाडमा एक मात्र पदक जितेको बक्सिङका प्रशिक्षक प्रचण्ड शर्मा उनकै कार्यकालमा मुख्य प्रशिक्षकबाट हटाइए ।
०६८ मा सुदूरपश्चिमको धनगढी, टीकापुर र महेन्द्रनगरमा छैटौँ बृहत् राष्ट्रिय खेलकुद सम्पन्न हुनु र ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेश सयर नगर्नु लामाका सकरात्मक पाटा रहे ।
एनओसीसँग पानी बाराबारको अवस्थामा पनि खेलाडीको अन्तर्राष्ट्रिय सहभागितामा कहिल्यै तगारो नबन्नु र सरकारी बजेटमा प्रभावकारी लविङ गरेर खेलकुदलाई प्राथमिकतामा राख्नु उनको कार्यकालको सफलता रहे । वर्षौभरि राष्ट्रिय टोलीलाई विशेष प्रशिक्षणको व्यवस्था गर्नु र दक्षिण एसियाली खेलकुद र ओलम्पिकमा पदक जित्न सक्ने खेलाडीलाई प्रोत्साहित गर्न पुरस्कारको व्यवस्था गर्नु उनको सकरात्मक पाटो बन्यो ।
प्रशिक्षक र राष्ट्रिय संघको पनि हौसला बढाउन पुरस्कारको व्यवस्था गर्नु उनको राम्रो पाटो बन्यो ।
उनले सबैखाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोतिगाको वर्गीकरण गरी त्यही अनुसारको पुरस्कार दिने कायविधि पनि आफ्नै कार्यकालमा गराए । तथापि, यो पूर्णवैज्ञानिक नभएको धेरै खेलकर्मीले ठहर गरे ।
भौतिक पूर्वाधार निर्माणमा पनि लामाको कार्यकाल उल्लेख्य रह्यो । उनकै कार्यकालमा २४० निर्वाचन क्षेत्रका सबै ७५ जिल्लामा सेमि कभर्डहल निर्माण गर्ने तथा दशरथ रंगशाला पुनर्निर्माणको काम सुरु भइसकेको छ । यसैगरी, कीर्तिपुरमा क्रिकेटका लागि इन्डोर अभ्यासस्थल तथा मूलपानीको बहुचर्चित क्रिकेट रंगशाला निर्माणको काम लामाकै कार्यकालमा सुरु भएको छ । भौतिक पूर्वाधारमा जोड दिनेलगायत काम लामाको खेलकुदमा उल्लेख्य कार्य हुन्
आफ्नो कार्यकाल सकिए पनि लामाले भावी योजना पनि सुनाएका छन् । हालै आएको भूकम्पका कारण धराशयी बनेका खेलकुदको पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उनले बताएका छन् ।
राखेपको कार्यलय रहेको धवन भत्काएर खाली गर्दै पौडी पोखरी तथा लङ टेनिस भएको स्थानमा अन्तर्राष्ट्रिय स्तरको ४ हजारसम्मको सिट क्षमता भएको कभर्ड हल बनाउने तथा सोही क्षेत्रमा २० कोठाको प्रशाशनिक भवन योजना सुनाए । पौडी पोखरी र खेलाडी छात्रवास मूलपानी सार्ने प्रस्ताव गरिएको छ ।
आफ्नो कार्यकाल सकिएपछि केही समय आराम गर्ने सोच बनाएका लामाले फेरि आउने मौका पाए पूरै अध्ययन गरेर आउने बताए ।
लामा कार्यकालका थुप्रै पाटा छन् । उनले गरेका निर्णय सही या गलत समयले बताउने छ । तर, सत्य के हो भने लामा कार्यकाल विवाद, स्क्यान्डल र चर्चाको कार्यकाल रह्यो ।

प्रतिक्रिया