जुरिच । सन् २०१८ र २०२२ रुस र कतारमा हुने विश्वकप आयोजकले गुमाउन सक्ने फिफाका एक पदाधिकारीले बताएका छन् ।
विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)मा भ्रष्टाचार भएको खुल्दै गएपछि रुस र कतारले पनि विश्वकप आयोजनामा भोट किनेको हुनसक्ने आशंकामा उनीहरूलाई दिइएको विश्वकप आयोजनाको अधिकार खोस्नुपर्ने माग पनि उठ्न थालेका थिए । त्यसैलाई बढवा दिँदै फिफाकै एक उच्च अधिकारी तथा फिफाको अडिट कमिटीका प्रमुख डोमिनीको स्केलाले आयोजना अधिकार खोसिन सक्ने बताएका हुन् । ‘रुस र कतारले विश्वकप आयोजनाको अधिकार प्राप्त गर्न घुस लिएको बारे छानबिन गरिरहेको छ ।’ स्केलाले भने, ‘यदि उनीहरूले घुस लिएको प्रमाण भेटिए पुनः आयोजकका लागि निर्वाचन हुने र भोट खरिद गरेका कारण विश्वकप आयोजनाको अधिकार पाएको पुष्टि भए रद्ध हुनेछ ।’ सन् २०१८ मा रुस र २०२२ को विश्वकप आयोजना गर्ने अधिकार पाएका कतारले भने यो सबै आरोपको खण्डन गर्दै आएका छन् ।
स्विट्जरल्यान्डको एक पत्रिकासँग कुरा गर्दै स्केलाले अहिलेसम्म आयोजक बन्नका लागि भ्रष्टाचार, घुसखोरी तथा भोट खरिद गरेको कुनै प्रमाण भने फेला नपरेको जानकारी गराएका छन् । स्केलाले सन् २०१३ मा पनि यस्तै किसिमको प्रतिक्रिया दिएका थिए । तर, पछिल्ला केही हप्ता यता फिफामा देखिएको संकटबीच आएको यो भनाइलाई गम्भीर चेतावनीका रूपमा लिइएको छ । स्विस प्रहरीले केही हप्ताअघि जुरिच फिफाका सात उच्च अधिकारीसहित १४ जनालाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको थियो । पक्राउ परेकालाई अमेरिकाले २४ वर्षमा करिब नौ सय ७० करोड डलर भ्रष्टाचार गरेको आरोप लगाएको छ । स्विट्जरल्यान्डले पनि रुस र कतार विश्वकपमा भ्रष्टाचार भएको भन्दै छुट्टै छानबिन गरिरहेको छ । यसअघि फिफाले रुस र कतार विश्वकपमा भ्रष्टाचार भए नभएको विषयमा जाँच गर्न अमेरिकी वकिल माइकल गर्सियालाई नियुक्त गरेको थियो । फिफाले भ्रष्टाचार नभएको भन्दै रिपोर्ट सार्वजनिक नगरेपछि गर्सियाले राजीनामा दिएका थिए । (एजेन्सी)
प्रतिक्रिया