अनिलले जिते आरएमसी पोखरा ओपन टेनिस

pokharaपोखरा, २४ जेठ । डिफेन्डिङ च्याम्पियन अनिल शाहीले पोखरामा जारी दोस्रो आरएमसी पोखरा ओपन टेनिस प्रतियोगिताको उपाधि हात पारेका छन् । स्काइ माउन्ट टेनिस क्लबको आयोजनामा शनिबार पोखरा रंगशालामा भएको एकलतर्फको फाइनलमा विकास गुरुङलाई ६–१ र ७–६ को सोझो सेटमा पराजित गर्दै अनिल शाहीले उपाधि हात पारेका हुन् । उपाधिसँगै अनिलले १० हजार रुपैयाँ पाए ।
पहिलो सेट सजिलै हात पारेका अनिल दोस्रो सेटको सुरुआतमा भने केही पछाडि परेका थिए । कुनै समय ३–० ले पछि परेका अनिलले उत्कृष्ट पुनरागमन गर्दै खेललाई ६–६ को बराबरीमा ल्याए । टाइब्रेकरमा पनि ३–० ले अगाडि रहेका विकासविरुद्ध उत्कृष्ट पुनरामगन गर्दै अनिलले खेल ७–६ ले जिते ।
यसअघि अनिल शाहीले पोखरामा भएका प्रतियोगिताका विभिन्न ११ वटा टाइटल जितिसकेका छन् । अनिल पोखराको शीर्ष वरीयता प्राप्त खेलाडी हुन् । जुनियरतर्फ मेन्स सिंगल्सको उपाधि प्रदीप खड्काले हात पारे । धर्मस्थली मावि पस्र्याङमा कक्षा १० मा अध्ययन गर्ने खड्काले फाइनलमा लोक गुरुङलाई ६–७, ६–१ र १०–६ ले पराजित गरेका हुन्।
प्रतियोगिताअन्तर्गत सिनियरतर्फ पुरुष युगलको उपाधि शक्ति शर्मा र शरण गुरुङको जोडीले जितेको छ । फाइनलमा सो जोडीले धरमसिंह लामिछाने र गोपीबहादुर भट्टराईको जोडीलाई ६–४ र ६–२ को सेटमा हराएको हो । जुनियरतर्फको मेन्स डबलको उपाधि पनि शरणले नवीन श्रेष्ठको जोडीले नै जितेको छ । शरण र नवीनको जोडीले पृथ्वीमान गुरुङ र प्रदीप खड्काको जोडीलाई ६–३, ३–६ र १०–५ को सेटमा पराजित गरेको थियो । अन्य स्पर्धामा विजेताले पाँच हजार तथा उपविजेताले तीन हजार, ट्रफी पुरस्कार प्राप्त गरेका थिए ।
प्रतियोगितामा नवीन पुन मगर राइजिङ प्लेयर अफ दी टुर्नामेन्ट घोषित भए । उनले ट्रफीसहित छ हजार रुपैयाँ पाए । विजेता तथा उपविजेता खेलाडीलाई प्रमुख प्रायोजक पोखरा एभरेस्ट ट्रेड एन्ड हाउजिङ प्रालिका अध्यक्ष नारायण गुरुङ र कास्की जिल्ला लनटेनिस संघका अध्यक्ष विनोद कायस्थलगायतले पुरस्कार वितरण गरे ।
सो अवसरमा प्रमुख प्रायोजक पोखरा एभरेस्ट ट्रेड एन्ड हाउजिङ प्रालिका अध्यक्ष नारायण गुरुङले प्रतियोगितामा सहकार्य गर्ने अवसर प्राप्त भएकामा आयोजकलाई धन्यवाद दिँदै विजेता तथा उपविजेतालाई बधाई तथा शुभकामना दिए ।
कास्की जिल्ला लनटेनिस संघका अध्यक्ष विनोद कायस्थले पोखरा रंगशालामा टेनिस खेलको सुरुआत गर्न पाएको सहयोग गर्ने सबैलाई आभार प्रकट गरे । उनले सबैबाट सहयोग पाए रंगशालामा हालको कोर्टलाई स्तरीय बनाउनुका साथै थप कोर्ट निर्माण गरिने दाबी गरे । सहभागीमध्येका लोक गुरुङले प्रतियोगितालाई खेलाडीको कुशलता नाप्ने कडीको रूपमा लिइएको बताए ।
सोही अवसरमा टेनिस कोर्ट निर्माणका लागि हाल जापानमा रहेका बगरका गुरुङले जापानमा संकलन गरी पठाएको एक लाख ७३ हजार छ सय एक रुपैयाँ लनटेनिस संघलाई हस्तान्तरण गरिएको थियो । श्री गुरुङको छोरा समीर गुरुङ र छोरी पवित्रा गुरुङले लनटेनिस संघका अध्यक्ष विनोद कायस्थलाई सो रकम बराबरको चेकबोर्ड हस्तान्तरण गरेका थिए।
कास्की जिल्ला लनटेनिस संघका अध्यक्ष विनोद कायस्थको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन राजेन्द्रप्रसाद घिमिरेले गरेका थिए भने भने प्रकाश रानाले कार्यक्रम सञ्चालन गरेका थिए । १८ जेठदेखि सञ्चालित प्रतियोगितामा एकल र डबल गरी ४० जना खेलाडीको सहभागिता रहेको थियो । (सौस)

प्रतिक्रिया