काठमाडौं । विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै झापा –११ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम क्वाटरफाइनलमा पुलिसलाई १ –० गोलको झिनो अन्तरले पराजित गर्दै झापा अन्तिम चरणमा पुगेको हो ।
एन्फा टेक्निकल सेन्टरमा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । विभागीय टोली पुलिसविरुद्ध आक्रामक शैलीमा प्रस्तुत भएको झापाले पहिलो हाफमा गोल गर्ने केही मौका गुमाएको थियो । यता मुख्य खेलाडी भोला शिलवालविना मैदानमा उत्रिएको पुलिस पनि गोल गर्न चुकेको थियो ।
त्यस्तै, खेलको सुरुआती मिनटमै कर्ण लिम्बूको केही कडा प्रहार पुलिसका किपर रोशन खड्काले विफल बनाइदिएका थिए । दोस्रो हाफको खेलमा भने झापाले पुलिसलाई एकतर्फी पेलेको थियो । दोस्रो हाफको सुरुबाटै बल पोजिसनमा पकड राख्दै झापाले सुरुआती अग्रता बनायो । खेलको ५४औँ मिनेटमा गणेश खड्काले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
दोस्रो हाफको सुरुमै एक गोलले पछि परेको पुलिस लयमा रहेको झापाविरुद्ध खेलमा फर्कन सकेन र नतिजा झापालाई १–० ले सुम्पदै प्रतियोगिताबाट बाहिरियो । खेलमा झापाका बुद्ध चेम्जोङ म्यान अफ दि म्याच चुनिए । भूकम्पपीडितका लागि सहयोग जुटाउने लक्ष्यसहित रूपन्देही जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको कुल लागत करिब ४५ लाख अनुमान गरिएको छ । प्रतियोगिताको विजेता टिमले ट्रफीसहित तीन लाख ७५ हजार रुपैयाँ जित्नेछन् । (सौस)
प्रतिक्रिया