बुटवल, २१ जेठ । १० खेलाडीमा सीमित बनेको विभागीय सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै दार्जिलिङ–११ बुटवलमा जारी १८औँ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एन्फा टेक्निकल सेन्टर मैदान बुटवलमा बुधबार भएको खेलमा दुवै टोलीले दुई–दुई गोलको बराबरीमा सकिएको थियो । निर्धारित समयको खेल बराबरीमा सकिएपछि खराब मौसमको कारण आयोजकले सिधै पेनाल्टी सुटआउटको निर्णय गरेको थियो । जसमा एपिएफलाई ४–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । दार्जिलिङका दिवस तामाङ, प्रनित लामा, सिदार्थ क्षेत्री र भाइचोङ राईले गोल गर्न सफल भए भने एपिएफका आदित्य चौधरी र सुदीप शिखाकर गोल गर्नबाट चुके । गर्मी मौसम भएकाले कुलिङ ब्रेक दिएर खेलाइएको खेलको २६औँ मिनेटमा एपिएफ १० खेलाडीमा सीमित बन्न पुग्यो । रञ्जन विष्टले विपक्षी खेलाडीलाई हातले तानेर लडाएपछि रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए । १० खेलाडी भए पनि एपिएफले दार्जिलिङ सामु खुलेर खेल्दै ३९औँ मिनेटमा पहिलो गोल गर्न सफल भयो । एपिएफका लागि नविन लामाले एकल प्रयासमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता बनाएको एपिएफले दोस्रो हाफमा अग्रता दोब्बर गर्ने मौका गुमायो । अञ्जन विष्टलाई पेनाल्टी एरियामा दिवस तामाङले फल गरेपछि ५२औँ मिनेटमा प्राप्त पेनाल्टीमा नविन लामाको प्रहार बारमा लागेर फर्कियो । ५८औँ मिनेटमा दार्जिलिङका गणेश सुब्बाले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याउँदै खेलमा फर्कने संकेत गरे ।
दार्जिलिङले गोलको खुसी दुई मिनेट पनि मनाउन पाएन । ६०औँ मिनेटमा राजेन्द्र रावलले गोल गर्दै एपिएफलाई पुनः अग्रता दिलाए । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको इन्जुरी समयमा प्रशान्त विकले गोल गर्दै खेललाई दुई–दुई गोलको बराबरीमा ल्याउँदै खेललाई टाइब्रेकरसम्म पु¥याएका थिए ।
प्रतिक्रिया