सिओल, २१ जेठ । एसियाका एक हजारभन्दा बढी उत्कृष्ट एथलेटहरू दक्षिण कोरियाको हुवानमा जम्मा भएका छन् । एसियाली ट्रायक एन्ड फिल्डको २१औँ संस्करण बुधबार सुरु भयो । हुवानमै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका लागि बेइजिङमा हुने विश्व च्याम्पियनसिपमा छनोटको अवसरसमेत हुनेछ ।
हाइजम्पका एसियाली कीर्तिमानधारी इराकका मुस्ताज इसा बर्सिम प्रतियोगिताको मुख्य आकर्षण हुने अनुमान गरिएको छ । इरानका चर्चित डिस्कस थ्रो खेलाडी इसान हाडिडीलाई भारतीय विकास गोवडाले कडा चुनौती दिने अपेक्षा गरिएको छ । कजाकस्तानकी ओलम्पिक ट्रिपलजम्प च्याम्पियन ओल्गा रायकोभाले अर्को पदक थप्ने अपेक्षा गरिएको छ ।
पुरुष चार सय मिटरमा एसियाली कीर्तिमानधारी युसेरी अल मस्रारीलाई कतारमा अब्देला हरूणले कडा चुनौती दिने धेरैको अनुमान छ । यसपटक एसियालीले एक सय मिटर दौड १० सेकेन्डभन्दा कम समयमा दौडेर सनसनी पैmलाउने अनुमान पनि नभएको होइन । यसका लागि चीनका झाङ पेइमिङको सम्भावना सबैभन्दा बढी रहेको जनाइन्छ । तथापि उनले यस स्पर्धामा एसियाली कीर्तिमानधारी कतारका फेमी ओगुन्डे, जापानका योसुहिरे किगेन्डु र चीनकै सुङ बेन्टनबाट कडा चुनौतीको सामना गर्नुपर्नेछ । प्रतियोगिताकै दौरान एक सय १० मिटर हर्डल्सका विश्व स्टार लिउ जियाङलाई सम्मान गरिनेछ । पुरुष सटपुटमा भारतीय इन्द्रजित सिंह दाबेदार रहेका छन् ।
नेपालका उदीयमान स्प्रिन्टर आशिष चौधरीले सहभागिता जनाउने एक सय मिटरमा कतारका खेलाडीको बोलवाला रहेको छ । आठ वर्ष कतारका सामुयल फ्रान्सिसले ९ दशमलव ९९ सेकेन्डमा रेस पूरा गर्दै कायम गरेको कीर्तिमानलाई कतारकै फेमी ओगुन्डोले इन्चोन एसियाडमा ९ दशमलव ९३ को नयाँ कीर्तिमान कायम गर्दै भंग गरेका थिए । यिनका प्रतिद्वन्द्वीका रूपमा चीनका झाङ रहेका छन् ।
दुई सय मिटरमा ओगुन्डेको प्रतिस्पर्धा साउदी अरेबियाका मोहम्मद अल सुबेसँग हुनेछ । सीमा चौधरीले प्रतिस्पर्धा गर्ने डिस्कस थ्रोमा थाइल्यान्डकी सुब्रेन इन्साङ प्रबल दाबेदार रहेकी छिन् ।
प्रतिक्रिया