निर्वाचित भएको चौथो दिनमै ब्लाटरको राजीनामा

Sepp-Blatterजुरिच, २१ जेठ । भ्रष्टाचारको मुद्दा परेपछि विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को अध्यक्ष पदमा निर्वाचित भएको चार दिन पनि नबित्दै सबैलाई चकित पार्दै सेप ब्लाटरले राजीनामा दिएका छन् ।

निर्वाचनको केही दिनअघि फिफाका सात उच्च पदाधिकारी भ्रष्टाचार गरेको आरोमा स्विटजरल्यान्डबाट पक्राउ परे पनि स्विस नागरिक ब्लाटर चार दिन अघि (शुक्रबार) विवादका बीच फिफा अध्यक्षमा निर्वाचित भएका थिए । फिफा अध्यक्षमा पाँचौँ कार्यकालका लागि निर्वाचित भएका ब्लाटरलाई भ्रष्टाचारको आरोप लागेपछि मंगलबार फिफाको मुख्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै आपूmलाई सबैको समर्थन नभएको हुनसक्ने भन्दै राजीनामाको घोषणा गरेका हुन् । ‘मैले फिफामा चारदशकभन्दा लामो समय बिताए ।’ अध्यक्ष पदबाट राजीनामा दिँदै ब्लाटरले भने, ‘सबैभन्दा बढी फिफालाई नै माया गर्छु । त्यसैले यसपटक पनि उम्मेदवारी दिएको थिएँ ।’ यद्यपि १७ वर्षदेखि फुटबलको नेतृत्वमा एकछत्र राज गर्दै आएका ७९ वर्षीय ब्लाटरले राजीनामा दिए पनि फिफाको अर्को अध्यक्ष निर्वाचित नभएसम्म कार्यभार सम्हाल्ने बताएका छन् । ब्लाटरले फिफाको अर्को कंग्रेस जतिसक्दो छिटो बोलाउने बताएको छ । ब्लाटरले उक्त कंग्रेसले नयाँ सफल नेतृत्व छनोट गर्न सफल हुने विश्वास लिएको बताएका छन् । निर्वाचित भएको फिफा कार्यसमितिको पहिलो बैठक आगामी १३ मे २०१६ मा मेक्सिकोमा बस्दै छ । ‘कार्यकारिक कमिटीलाई म विशेष बैठक बोलाउन आग्रह गर्दछु । जसले नयाँ नेतृत्व छनोट गर्ने अवसर प्रदान गर्नेछ । ब्लाटरले भने, ‘जुन अहिले फिफाको आवश्यकता पनि हो । त्यसले फिफाको उत्कृष्ट नेतृत्व छनोट गर्नेछ ।’ फिफाको आकस्मिक बैठक डिसेम्बर २०१५ र मार्च २०१६ मा बस्ने अनुमान गरिएको छ ।
ब्लाटरकै कार्यकालमा फिफामा भ्रष्टाचारको दलदलमा फस्दै गएपछि उनी माथि राजीनामा दिने ठूलो चुनौती बढ्दै गएको थियो । निर्वाचन हुनुभन्दा केही दिनअघि फिफाका सात उच्च पदाधिकारीलाई भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि अध्यक्ष ब्लाटरमाथि ठूलो दबाब बढेको थियो । फिफाका ती सात पदाधिकारीहरूले भ्रष्टाचार गरेको प्रमाणित भएपछि फिफा नेतृत्वको बारेमा नै प्रश्नचिह्न उब्जिएको थियो । अमेरिक न्यायिक अदालतले १४ पदाधिकारीहरू भ्रष्टाचारमा संलग्न भएको बताएको थियो । त्यसको दबाबलाई थेग्न नसकेपछि ब्लाटरले राजीनाको निर्णय गर्नुपर्ने अवस्था आएको थियो ।
अमेरिक न्यायिक अदालतले अध्यक्ष ब्लाटरमाथि पनि भ्रष्टाचार गरेको बारेमा अनुसन्धान गरिरहेको र ब्लाटर पनि छानबिनको घेराभित्र परेको अमेरिकी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
अमेरिकी सञ्चार माध्यमका अनुसार प्रहरी हिरासतमा रहेका फिफाका अरू पदाधिकारीबाट अनुसन्धानका क्रममा पाएको प्रमाणका आधारमा ब्लाटरविरुद्ध पनि मुद्दा दर्ता गर्न मिल्नसक्ने बताएको छ । अहिले भ्रष्टाचारको आरोपमा फिफाका १४ जना पदाधिकारीविरुद्ध मुद्दा चलिरहेको छ । एसिया र अफ्रिकी फुटबलको विकासमा ठूलो योगदान गरेका ब्लाटरले अध्यक्ष छाडेसँगै एसिया र अफ्रिकालाई ठूलो घाटा हुने विश्लेषकहरूले अनुमान गरेका छन् ।

प्रतिक्रिया