काठमाडौं । पर्वतीय खेलकुद महासंघ–नेपालको दोस्रो वार्षिक साधारणसभा शनिबार काभ्रेको नमोबुद्धमा सम्पन्न भएको छ । साधारणसभामा महासंघको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, ११ वटा सदस्य संघका दुई/दुई जना गरी २२ जना प्रतिनिधि तथा अतिथिसमेत गरी ३८ जनाको सहभागिता रहेको थियो । उक्त अवसरमा विभिन्न संघका प्रतिनिधिले माउन्टेन स्पोर्टस फेस्टिभल तथा आ–आप्ना संघले गरेका विविध गतिविधिका बारेमा रिपोर्ट प्रस्तुत गरेका थिए । साधारणसभामा अध्यक्ष युवराज लामाले महासंघको आगामी कार्ययोजनाको प्रस्ताव, महासचिव गोविन्द भट्टराईले महासंघको प्रगति विवरण तथा कोषाध्यक्ष मेघराज पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यी सबै प्रतिवेदनलाई साधारणसभाले सुझावसहित पारित गरेको छ ।
पर्वतीय खेलकुद महासंघ–नेपालमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा), एभिएसन स्पोर्टस् एसोसिएसन, नेपाल इक्वेस्टेरियन एसोसिएसन, नेपाल साइक्लिङ संघ, नेपाल गल्फ एसोसिएसन र नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ एसोसिएसन सदस्य छन् । यसैगरी, बन्जीजम्पिङ तथा क्यानोनिङ एसोसिएसन, नेपाल एथलेटिक्स संघ, एमआरसिए–नेपाल, नेपाल ट्रायथलन एसोसिएसन र नेपाल आर्चरी एसोसिएसन संलग्न छन् । साधारणसभाले मोर्डन पेन्टाथलन एसोसिएनलाई समेत महासंघमा आवद्ध गर्ने निर्णय गरेको छ । (सौस)
प्रतिक्रिया