पुरुष भलिबल नेपाली टोली चौथो स्थानमा

volleyballकाठमाडौं, १६ जेठ । बंगलादेशको ढाकामा सम्पन्न एभिसी सेन्टर जोन सिनियर पुरुष भलिबल च्याम्पियानसिपमा नेपाल चौथो स्थानमा सीमित बनेको छ ।

अर्काे चरण पुग्नका लागि भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित हुँदै चौथो स्थानमा समेटिएको हो । नेपाल अफगानिस्तानसँग ३–२ को संघर्षपूर्ण सेटमा पराजित भयो । यसअघि सेमिफाइनलमा नेपाल तुर्केमिनिस्तानसँग पराजित भएको थियो । मिरपुर इन्डोर स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले पहिलो सेटमा जित निकालेको थियो । बलियो प्रतिद्वन्द्वी अफगानिस्तानविरुद्व नेपालले पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको थियो ।
नेपालले पहिलो सेटको प्रदर्शनलाई निरन्तरता दिन नसक्दा दोस्रो र तेस्रो सेट लगातार गुमायो । अफगानिस्तानविरुद्ध दोस्रो सेट २५–१८ ले गुमाएको नेपालले निकै नै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा पनि ३४–३२ ले पराजित भयो ।
चौथो सेटमा नेपाल खेलमा फर्कियो र नतिजा २५–२२ ले आफ्नो पक्षमा बनाउँदै खेल २–२ सेटको बराबरीमा ल्याए पनि पाँचौँ तथा निर्णायक सेटमा १५–११ ले पराजित भएपछि अर्काे चरणमा प्रवेश गर्ने मौका पनि गुमाएको छ ।
शनिबारबाट सुरु प्रतियोगितामा नेपालसहित अफगानिस्तान, बंगलादेश, काजिकिस्तान, माल्दिभ्स, तुर्केमिनिस्तान, उज्वेकिस्तान र तिकिस्तान गरी आठवटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताका विजेतासहित तुर्केमिनिस्तान र अफागानिस्तानले अर्को चरणको प्रतियोगितामा स्थान बनाएका छन् । अर्काे चरणका खेल आगमी साउनमा हुँदै छन् ।

प्रतिक्रिया