प्लाटिनीको अनुरोध ब्लाटरबाट अस्वीकार

fifaजुरिच । फिफाका अध्यक्ष सेफ ब्लाटरले युइएफएको अध्यक्ष पदबाट राजीनामा दिन युरोपेली फुटबल महासंघका अध्यक्ष मिचेल प्लाटिनीले गरेको अनुरोधलाई अस्वीकार गरेका छन् । फिफा अध्यक्ष ब्लाटरले बिहीबार फिफाका ६ पदाधिकारीलाई आकस्मिक बैठकमा राख्दै प्लाटिनीले गरेको अनुरोधलाई अस्वीकार गरेका हुन् । लगातार पाँचौँपटक अध्यक्ष बन्ने अभियानमा रहेका ६९ वर्षीय ब्लाटरको प्रतिद्वन्द्वीको रूपमा फिफा कार्यसमितिका उपाध्यक्ष जोर्डनका राजकुमार अली अल हुसेन छन् । फिफाको निर्वाचन शुक्रबार हुँदै छ ।
यसैबीच (फिफा)का सात मुख्य पदाधिकारीसहित १४ जनालाई स्विस प्रहरीले बुधबार पक्राउ गरेपछि युरोपेली फुटबल महासंघ (युइएफए)ले चुनावी साधारणसभा सार्न गरेको प्रस्तावलाई पनि फिफा अध्यक्ष ब्लाटरले अस्वीकार गरे ।
कार्यसमितिका दुई उपाध्यक्षसहित सात पदाधिकारी पक्राउ परेपछि आलोचित ब्लाटरले आफ्नो बचाउ गर्दै विश्व फुटबलबाट भ्रष्टहरूलाई बाहिर निकाल्ने प्रतिक्रियासमेत दिए । ब्लाटरले जे बताए पनि विश्व फुटबलमा उनको आलोचना बढ्दै गएको छ । अमेरिकी फुटबल एसोसिएसन र एसियन फुटबल कन्फेडेरेसनले पनि प्रिन्सलाई भोट दिने बताएका छन् । अमेरिकी फुटबल एसोसिएसनका प्रमुख गिग्र डाँकेले ब्लाटरलाई हराउने उपयुक्त समय यही भएको भएको बताएका छन् । शुक्रबार हुने फिफाको चुनावी साधारणसभाको लागि विश्वभरका फिफाका दुई सय नौ प्रतिनिधि मताधिकारसहित जुरिच पुगेका छन् ।
चुनावी सभा हुने दुई दिनअघि फिफाका पदाधिकारीहरू समातिएपछि कमजोर जस्तै देखिएको अध्यक्ष ब्लाटर र प्रिन्स अलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । फिफाको संगठनात्मक ढाँचा अनुसार अफ्रिकी फुटबल महासंघसँग सबैभन्दा बढी ५६ भोट छ । यसैगरी, युरोपेली फुटबल महासंघसँग ५४, एसियाली फुटबल महासंघसँग ४७, मध्य तथा उत्तर अमेरिकी समूह कोन्काकाफसँग ४१, ओसियाना समूहसँग १४ तथा दक्षिण अमेरिकासँग १० भोट छ । (एजेन्सी)

प्रतिक्रिया