नेपालको विजय सुरुआत

news-photoकाठमाडौं, ११ जेठ । एभिसी सेन्टर जोन सिनियर पुरुष भलिबल च्याम्पियानसिपमा नेपालले विजयी सुरुआत गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा नौलो प्रतिद्वन्द्वी काजिकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै सुखद सुरुआत गरेको हो ।

ढाकास्थित सहिद सुर्वार्दी इन्डोर स्टेडियममा आइतबार भएको खेलमा नेपालले पहिलो सेट २५ –१९ ले आफ्नो पक्षमा पारे पनि दोस्रो सेटमा २२–२५ ले गुमाएको थियो तर त्यसपछिका दुई सेट नेपालले लगातार आफ्नो पक्षमा पारेको थियो ।
नेपालले काजिकिस्तानविरुद्ध तेस्रो सेट २५–१८ र चौथो तथा अन्तिम सेट २६–२४ को संघर्षपूर्ण जित निकालेको हो । क्वालिफायर प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ । शीर्ष चारटोलीले फाइनल यात्रा गर्ने प्रतियोगिताको विजेतासहित उत्कृष्ट तीन टिमले अर्को चरणको प्रतियोगितामा स्थान बनाउनेछन् । प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीको नेतृत्व स्पाइकर इमबहादुर रानाले गर्नेछन् ।
त्यस्तै टोलीको अन्य सदस्यमा उपकप्तान सञ्जय आर्यल खेलाडीहरू मिलन लामा, सञजु शाह, कुलबहादुर थापा, मनबहादुर श्रेष्ठ, राजकुमार थापा, उमाकान्त केसी, धनबहादुर भट्ट क्षेत्री, चन्द्रबहादुर कुँवार र हरिहजुर थापा रहेका छन् । टोलीको मुख्य प्रशिक्षकमा कपिल किशोर श्रेष्ठ र साहयक प्रशिक्षकमा प्रज्वल श्रेष्ठ रहेका छन् । टिम व्यवस्थापकमा श्यामकृष्ण श्रेष्ठ छन् । त्यस्तै, टोलीमा अन्तर्राष्ट्रिय रेफ्री कुलबहादुर थापा छन् ।

प्रतिक्रिया