काठमाडौं, ९ जेठ । एफसी यु–१४ क्षेत्रीय च्याम्पियन्ससिप प्रतियोगितामा नेपाली यु–१४ फुटबल टोलीले विजयी सुरुआत गरेको छ ।
‘फ्रम द रुबल्स वि राइज, लेट्स प्ले फर नेपाल’ भन्ने नारासहित भूकम्पमा परी ज्यान गुमाएका प्रति समर्पित हँुदै प्रतियोगितामा सहभागी नेपाली टोलीले पहिलो खेलमा पाकिस्तानमाथि १–० को साँघुरो जित हात पारेको हो ।
ताजिकिस्तानको दसहान्वे सहरमा शुक्रबार भएको खेलमा नेपालको जितमा एक मात्र निर्णायक गोल रेजिन सुब्बाले गरेका थिए । पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफको ३८ औँ मिनेटमा अग्रता लिएको । त्यसपछि दुवैतर्फ आक्रमण भए पनि गोल
हुन सकेन । पाकिस्तानविरुद्ध उत्कृष्ट खेल खेलेकोे नेपालले कुनै पनि गोलका थुपै्र मौका गुमाएको थियो । पाकिस्तानले कुनै पनि समय नेपालमाथि गतिलो आक्रमण बुन्न सकेन । खेलको अन्तिम समयमा नेपाल १० खेलाडीमा सीमित भएको थियो । नेपालको राजीव लोप्चन दोहोरो पँहेलो कार्ड बेहोर्दै मैदान छाडेका थिए । खेल ६० मिनेट खेलाइएको थियो ।
समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेलमा सोमबार अफगानिस्तानको सामना गर्नेछ । प्रतियोगिताको फाइनल खेल २६ मेमा दसहान्वे सहरमा हुनेछ ।
एएफसीले एसियाको फुटबल तल्लो तहबाट विकास गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना गर्ने फेस्टिभलका लागि एक महिनाअघि नेपालले तयारी थालेको थियो । तर, भूकम्पले प्रभावित बनेको थियो । भूकम्पपछि पनि एन्फाले क्याम्प खडा गरी खेलाडीको मनोवैज्ञानिक असर कम गराई फेस्टिभलका लागि तयार बनाएको थियो ।
एफसी यु–१४ क्षेत्रीय फुटबल फेस्टिबलमा दक्षिण एसिया र मध्ये क्षेत्रका सात टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक ताजिकिस्तानसहित भारत, श्रीलंका र इरान छन् । समूह ‘बी’ मा नेपालसहित अफगानिस्तान र पाकिस्तान छन् ।
फेस्टिबलका लागि अभिषेक बर्माको कप्तानीमा नेपाली टोली छ । ताजिकिस्तान जाने टोलीका अन्य सदस्यमा छिरिङ तामाङ, आकाश रानाभाट, असीम भुषाल, विकास खवास, नवीन गुरुङ, अञ्जल गुरुङ, निराजन महर्जन, मषीस थापा, अमृत गुरुङ, विनय चौधरी, नितेन थापा, दिप्सन राउत, अनिल महर्जन, जय गुरुङ, दर्शन गुरुङ, रेजिन सुब्बा र राजीव लोप्चन छन् । यस्तै, मुख्य प्रशिक्षकमा हरि खड्का र सहायक प्रशिक्षकमा सुनोज श्रेष्ठ छन् भने टिम म्यानेजरमा संजीव मिश्र छन् ।
प्रतिक्रिया