काठमाडौं, ५ जेठ । ‘फ्रम द रुबल्स वि राइज, लेट्स प्ले फर नेपाल’ भन्ने नारासहित आफ्नो यात्रा भूकम्पमा ज्यान गुमाएका प्रति समर्पित गर्दै नेपाली यु–१४ फुटबल टोली सोमबार ताजिकिस्तान प्रस्थान गरेको छ । एफसी यु–१४ क्षेत्रीय च्याम्पियन्ससिप प्रतियोगिताका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पको पीडालाई बिर्संदै विदेशिएको नेपाली टोलीबाट उक्त उमेर समूहमा विगतकोे सान जोगाउने अपेक्षा गरिएको छ ।
टोलीलाई सोमबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामा एन्फा कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठले बिदाइ गरे । लामाले अहिले देश नै पीडामा रहेको भन्दै यस्तो परिस्थितमा पनि खेलको मध्यमबाट जस्तोसुकै विपत्तिमा पनि नेपाल खेल्न सक्छ भन्ने सन्देश पु¥याउन खेलाडीलाई आग्रह गरे । ‘हामी एकदम विषम परिस्थितिमा छौँ, तर, तपाईंहरूको सहभागिताले नेपालले जस्तोसुकै अवस्थामा पनि खेल सक्छ भन्ने सन्देश विश्वलाई जानेछ ।’ लामाले भने, ‘त्यसैले यस परिस्थितिमा तपार्इंहरूले शोकलाई शक्तिमा बदल्नुपर्नेछ, विश्वको ध्यान नेपालमा केन्द्रित हुनेछ ।’ लामाले यस विपत्तिको परिस्थितिमा पनि एन्फाको फेस्टिभलमा पठाउने निर्णय सराह्रनीय भएको बताए । यस्तै, बिदाइ गर्दै कार्यवाहक अध्यक्ष श्रेष्ठले आफ्ना खेलाडी खेल्न पूर्ण फिट भएके कारणले सहभागिता जनाएको बताए ।
ताजिकिस्तानको दसहान्वे सहरमा २० मेबाट सुरु हुने फेस्टिभलका लागि अभिषेक बर्माको कप्तानीमा १८ सदस्यीय खेलाडी र ४ अफिसियल त्यसतर्फ प्रस्थान गरेका हुन् ।
नेपाली टोलीमा छिरिङ तामाङ, आकाश रानाभाट, असीम भुसाल, विकास खवास, नवीन गुरुङ, अभिषेक बर्मा, अञ्जल गुरुङ, नीराजन महर्जन र मनीष थापा थापा छन् । यसैगरी, अमृत गुरुङ, विनय चौधरी, नितेन थापा, दिप्सन राउत, अनिल महर्जन, जय गुरुङ, दर्शन गुरुङ, रेजिन सुब्बा र राजीव लोप्चन छन् । यस्तै, मुख्य प्रशिक्षकमा नेपाली फुटबलमा सर्वकालिन उत्कृष्ट खेलाडीको छवि बनाएका हरि खड्का छन् । सहायक प्रशिक्षकमा सुनोज श्रेष्ठ छन् । टिम म्यानेजरको जिम्मेवारी सञ्जीव मिश्रले सम्हालेका छन् ।
एएफसीले एसियाको फुटबल तल्लो तहबाट विकास गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना गर्न फेस्टिभलका लागि एक महिना अघिबाट नेपालले तयारी थालेको थियो । तर, भूकम्पले प्रभावित बनेको थियो । भूकम्पपछि पनि एन्फाले खेलाडीको मनोवैज्ञानिक असर कम गराउन विभिन्न क्याम्पमा खेलाडीलाई राखेर फेस्टिभलका लागि तयार बनाएको थियो ।
प्रशिक्षक खड्काले नेपाली टिमले राम्रो तयारी गरेको भन्दै फेस्टिभलमा राम्रो प्रदर्शन गर्ने बताए । ‘यो भूकम्पले खेलाडीलाई केही असर गरेको छ तर अहिले उनीहरू खेल्नका लागि तयार छन् ।’ प्रशिक्षक खड्काले भने, ‘तयारी राम्रो भए पनि फेस्टिभल भएको हुँदा हार र जितभन्दा पनि प्रदर्शनमा जोड दिन्छौँ ।’
प्रतियोगितामा ११ टोलीको सहभागिता रहनेछ । सहभाागी टोलीमा नेपालसहित अफगानिस्तान, भारत, बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, ताजिकिस्तान र उज्वेकिस्तान छन् । प्रतियोगिता ताजिकिस्तानकोे दसहान्वे सहरमा २० मे बाट २६ मेसम्म हुनेछ । फेस्टिभलअन्तर्गत सबै देशले एकअर्काविरुद्व खेल्नेछन् । फेस्टिभलको खेल तालिका भने एएफसीले सार्वजनिक
गरेको छैन ।
प्रतिक्रिया