बैंगलोरमा राहत जुटाउँदै नेपाली

banglor-newकाठमाडौं । विनाशकारी भूकम्पबाट प्रभावितका लागि राहत संकलन अभियानअन्तर्गत भारतमा अध्ययनरत नेपाली विद्यार्थी पनि खटिएका छन् । बैंगलोरस्थित रमैया कलेजका विद्यार्थीले नेपालका भूकम्पपीडितका लागि एक लाख ८४ हजार रुपैयाँ नगद तथा अन्य राहत सामग्री संकलन गरेका छन् ।
कलेजमा एमबिए अध्ययनरत सर्लाही, लालबन्दीका अरुण आचार्यका अनुसार संकलित रकम प्रधानमन्त्री राहतकोषमा जम्मा गरिएको छ । त्यस्तै, एक लाख ५३ हजार भारतीय रुपैयाँ बराबरको राहत सामग्री रविशंकर फाउन्डेसनमार्फत नेपाल पठाइएको छ । संकलित राहत सामग्री वितरणका लागि नारायण बाँस्तोलासहितको टोली बैंगलोरबाट नेपाल आउँदैछ ।
कलेजमा अध्ययनरत अरुण आचार्य, अजय रिजाल, अर्जुन निरौला, अंकितराज उपाध्याय, सुनिल निरौला, प्रशान्त प्रधानलगायत नेपाली विद्यार्थी राहत संकलन अभियानमा जुट्नुका साथै व्यक्तिगत सहयोगसमेत गरेका हुन् । भारतमा अध्ययनरत रहे पनि देशको माया र स्नेहका कारण पढाइपछिको समय मिलाएर राहत संकलन अभियानमा लागेको आचार्यले बताए ।
आफूहरू भारतमा भए पनि नेपालको सधैँ माया लागिरहने बताउँदै कलेजका विद्यार्थी अंकितराज उपाध्यायले भने, ‘यो हाम्रो सानो प्रयास हो तर यसले केही पीडितको घाउमा मलमको काम गर्न सक्छ ।’ अर्का विद्यार्थी अर्जुन निरौला भन्छन्, ‘सकेको सहयोग सबैले गरौँ, सकेसम्म मुठी खोलौँ । जबसम्म हामीभित्रको मानवता कमजोर हँदैन तबसम्म हामी बलिया रहन्छौँ । यो देशको झुकेको झन्डा हामी उठाउन सक्छौँ ।’ (सौस)

प्रतिक्रिया