लन्डन, २५ वैशाख । बेलायतमा बिहीबार भएको आमनिर्वाचनमा कन्जरभेटिभ पार्टीले अग्रता लिएको छ । बेलायतमा बिहीबार संसदका लागि नयाँ निर्वाचन भएको थियो ।
निर्वाचनका प्रारम्भिक नतिजाहरुले दिएको सङ्केतमा कन्जरभेटिभ पार्टीले अग्रता लिएको पाइएको छ । निर्वाचनका प्रारम्भिक सर्वेक्षणहरुले पनि यस्तो नतिजाको अपेक्षा गरेका थिए ।
यस निर्वाचनमा बेलायतको सत्ताधारी दल कन्जरभेटिभ पार्टीले स्पष्ट बहुमत हासिल गर्नसक्ने देखिएको लन्डनबाट प्राप्त समाचारमा जनाइएको छ ।
बेलायतका वर्तमान प्रधानमन्त्री डेभिड क्यामरुनको सो पार्टीले नै आगामी कार्यकालका लागि पनि बेलायती संसदमा बाहुल्यता हातपार्नसक्ने अनुमानहरु सार्वजनिक भएका छन् ।
बेलायतको संसद हाउस अफ कमन्सको ६५० स्थानका लागि भएको सो निर्वाचनमा अहिलेसम्ममा भएको मतगणनामा कन्जरभेटिभ पार्टीको अग्रता देखिएको छ ।
प्रधानमन्त्री क्यामरुन शुक्रबार बिहान निकै नै खुसी देखिएका थिए । उनले आफू उठेको निर्वाचन क्षेत्र दक्षिणी बेलायतको विट्नी निर्वाचन क्षेत्रमा विजय हासिल गरेको जानकारी समर्थकहरुलाई गराएका थिए ।
शुक्रबार बिहानसम्म ५०० भन्दा केहीमात्र बढी स्थानको नतिजा सार्वजनिक भइसकेका छन् । यो परिणाम सार्वजनिक हँुदासम्म उक्त दलले २३२ स्थान हात पारिसकेको छ ।
बेलायतमा ६५० स्थानका लागि बिहीबार निर्वाचन भएको हो । सो निर्वाचनमा स्पष्ट बहुमत हासिल गर्नका लागि कुनैपनि दलले ३२६ स्थान जित्नुपर्नेहुन्छ ।
यसअघि सन् २०१० मा भएको आमनिर्वाचनमा पनि कन्जरभेटिभ पार्टीले बढी स्थान जितेको थियो । सो दलले ३०७ स्थान जितेको थियो । तरपनि उसले स्पष्ट बहुमत भने हातपार्न सकेको थिएन ।
प्रतिक्रिया