काठमाडौ, २४ वैशाख । पछिल्लो समय नेपालका कराते खेलाडी तथा प्रशिक्षक विदेशमा स्थापित हुने क्रम बढ्दो छ । नेपालमा खेलेरै बाँच्न सक्ने अवस्था सिर्जना हुन नसकेका कारण खेलाडी तथा प्रशिक्षकका लागि विदेशिनु सामान्य भइसकेको छ । विविध बाध्यताबीच लामो समयअघि विदेशिएर पनि कराते खेलप्रतिको मोहलाई त्याग्न नसकेका यस्तै एक प्रशिक्षक निमा शेर्पा हुन् । उनले कराँतेमात्रै होइन वर्षांैअघि छाडेको आफ्नो देशलाई समेत माया मारेका छैनन् । टेलिफोन कुराकानीका क्रममा भन्द ैछन्, ‘राहत सामग्री लिएर छिट्टै नेपाल आउनेछु । मेरो गाउँ भत्किएको र चर्किएको छ । मेरो गाउँजस्तै देशका हजारौँ घर भत्किएका छन् । जनताको मन चर्किएको छ । पीडा
थाम्न सकिनँ ।’
समाजसेवाका लागि सधैँ तत्पर रहेका निमा भन्छन्, ‘अत्यन्तै विकट थियो हाम्रो सिन्धुपाल्चोकस्थित गाउँ, त्यहाँ शेर्पा समुदायका व्यक्ति कमै मात्र थिए । त्यतिबेलासम्म गाउँमा बत्ती र सडक पुगेको थिएन । विद्यालयको छुट्टै भवन नहुँदा आफैँ पिर्का बोकेर चौरमा पढ्थ्यौँ ।’ बाल्यकालमा आफूले केही दुःख व्यहोर्नुपरे पनि गाउँमा बत्ती र सडक पुगेको देखेपछि दंग थिए, वर्ष दिनअघि भेट्दा । तर, भूकम्पको कम्पनले सिन्धुपाल्चोकलाई नराम्ररी हल्लाएपछि निमा पनि पीडामा छन् । सधैँ आफ्नो गाउँ र देशमा अवसर नपाएकाको सहयोगार्थ जुट्नका लागि आफ्नै विगतले प्रेरणा दिने गरेको उनको बुझाइ छ । सिन्धु वेलफेयर सोसाइटी नामक संस्थामार्फत सन् २०१० यता नै उनी अमेरिकामा बस्ने अन्य साथीभाइसँगको सहकार्यमा १२ जनालाई हेलम्बूको याङरिमा स्कुलमा पढ्नका लागि खर्च जोहो गर्दै सक्रिय छन् । यसपटकको प्रकोपपछि देशका लागि थप केही गर्नुपर्ने जिम्मेवारी बढेको शेर्पा बताउँछन् । ‘आफैँ आउँनेछु । नसके अमेरिकामा बस्ने साथीभाइसँग संकलन गरेको राहत सामग्री अवश्य पठाउनेछु ।’
निमाको सम्बन्ध करातेसँग बेजोड छ । अमेरिका जानुअघि छोटो समयको नेपाल बसाइकै क्रममा उनले मूलधारको करातेमा मै हँु भन्नेलाई हल्लाएका थिए । अहिले उनी अमेरिकामा स्थापित प्रशिक्षक छन् । अमेरिकामा बस्ने नेपाली मात्रै नभएर विदेशी मूलका खेलाडीलाई समेत प्रशिक्षण गराउँछन् । प्रवासमै बसेर यस्तो उपलब्धि हासिल गर्ने शेर्पा नेपालमा भने लामो समय बस्न पाएनन् । उनी सिन्धुपाल्चोकको ज्यामिरे गाविसमा २०३५ सालमा जन्मिएका थिए ।
गाउँबाटै एसएलसी पास गरेपछि उच्च शिक्षाका लागि काठमाडौं हानिएका शेर्पालाई त्यतिबेला कराँतेले ठूलै प्रभाव पारिसकेको थियो । ‘सानैमा गाउँबाट काठमाडौं घुम्न आउँदा टिभी हेर्ने मौका मिल्थ्यो, त्यतिबेला फिल्ममा हेरेका फाइट गाउँमा गएर देखाउँदा सबै छक्क पथ्र्ये,’ करातेप्रतिको आफ्नो बाल्यकालदेखीको लगाव सम्झँदा उनी आफैँलाई हाँसो लाग्छ । काठमाडौं बसाइका क्रममा केही प्रतियोगितामा भाग लिए पनि उनको यात्रा लम्बिन सकेन । स्नातकसम्मको पढाइ सकेपछि शेर्पा जापानतर्फ लागे । उनका लागि जापान नौलो गन्तव्य थियो । त्यसैले सुरुआती दिनमा जापानको रहनसहनमा भिज्ने क्रममा उनले करातेसहित आफ्नो थुप्रै सौख थाती राख्नुप¥यो । तर, १० वर्ष जापान बस्ने क्रममा उनले धेरै सिके । ‘सबैभन्दा ठूलो कुरा रहर गरेपछि जे पनि पाइने रहेछ ।
पेम्बा तामाङसँगको भेटले मलाई फेरि करातेमै फर्काइदियो ।’– उनी सम्झन्छन् । जापानिजहरूको मेहिनत र आर्थिक विकासबाट ठूलो शिक्षा लिएका पेम्बाले त्यहाँ बसेर आफूलाई सोतोकानको एक कुशल प्रशिक्षकका रूपमा स्थापित गरे । जापान कराते एसोसियसनमा प्रशिक्षकको जिम्मेवारी पाउने पहिलो नेपाली पेम्बा तामाङले शेर्पालाई करातेमा स्थापित गराउन ठूलो भूमिका खेलेका थिए । ‘मेरा लागि उहाँ नै यस खेलको आदर्श हो ।’ उनी भन्छन् । उनले ६–७ वर्षसम्म प्रशिक्षण सम्बन्धि कोर्स गरे । त्यति लामो समयसम्म जापानमा कोर्स गर्ने उनी पहिलो नेपाली हुन् ।
जापानकै कराँते नोमिची वल्र्ड फेडेरेसनमा पनि उनले झन्डै तीन वर्ष कोर्स गरे । त्यतिबेला थुप्रै प्रतियोगिता मात्रै खेलाएनन, धेरै ठाउँमा रेफ्री बनेर नेपालको नाम राखे । ‘ जापानिहरुको आर्थिक र समाजिक विकास राम्रो छ । उनीहरु काममा प्रतिबद्ध हुन्छन् र आफ्नो जिम्मेवारी समयमै पुरा गर्नका लागि जस्तोसुकै त्याग गर्न पनि पछि पर्दैनन् । त्यसैले जापान विश्वमै उत्कृष्ट छ,’ करातेमा जापान उत्कृष्ट हुनुको रहस्य निमा यसरी खोल्छन् ।
प्रतिक्रिया