पालमुनिका गर्भवती महिलाका समस्या

Palकाठमाडौं, २२ वैशाख । काभ्रेकी २५ वर्षीया गर्भवती ईश्वरी तामाङलाई अस्पतालले सुत्केरीका लागि तीन दिनपछिको समय दिएको छ ।

वैशाख १२ गते गएको भूकम्पका कारण भाडामा लिएको कोठामा बस्न नसकेपछि उनी अहिले छाउनीस्थित नेपाली सेनाको ब्यारेकमा बसिरहेकी छिन् ।

ब्यारेकले नै दिएको पालमा बसिरहेकी ईश्वरीलाई अरु कुराले भन्दा पनि टाढा रहेको शौचालयका कारण समस्या हुने गरेको छ ।

‘भरेभोलिको समय छ पिसाब बारम्बार भइरहन्छ, तर शौचालय टाढा भएकाले साह्रै समस्या हुन्छ’, उनले सुनाइन् । अरु सामान्य अवस्थामा भन्दा गर्भवती भएका बेला झन् बढी शौचालयको समस्या हुने गरेको उनी बताउँछिन् ।

तेस्रो सन्तान जन्माउने तरखरमा रहेकी उर्मिला परियारको अवस्था पनि ईश्वरीको भन्दा कम छैन । सेनाले दिएको पालमा प्वाल परेपछि पानी आउँदासमेत रुझेर बस्नुपर्ने अवस्था उनको छ ।

यसै महिनाको अन्तिममा सुत्केरी हुने समय दिइएको छ उनलाई पनि । राम्रो ओछ्याउने पनि आफूसँग नभएको बेला यो चिसोले झन समस्या पारेको छ उनले गुनासो गरिन् ।

दुई सन्तान पनि सँगै भएकाले खाने समस्या नै उनका लागि मुख्य समस्या भएको छ । कालिकोटकी उर्मिला डल्लुमा नै डेरा लिएर बस्छिन् ।

‘अलि टाढा शौचालय भएकाले आउन जान गाह्रो हुन्छ’, उनले भनिन्, ‘अहिले झन् लामखुट्टेले पनि समस्या पार्न थालेको छ । यसका कारण अर्को रोग लाग्ला भन्ने चिन्ता लाग्न थालेको छ ।’

भाडामा लिएको घर नै चर्किएर बस्न नै डरलाग्दो भएको छ, उनले भनिन्, ‘यस्तो बेला कोठामा गएर सामान ल्याएर खान सकिने अवस्था पनि छैन । दुई छोराछोरी समेत भोकै पर्ने अवस्था छ । कोही दाता आएर केही दिए खान पाइन्छ नत्र भने भोकै रहनुपर्छ ।’

दोलखाकी नीसा परियार भूकम्प गएको तीन दिनपछि सेनाको ब्यारेकमा आएकी हुन् । ‘अरु बेला म आफन्तकोमा नै बस्थेँ तर कति दिन पो अर्काकोमा बस्नु र ? सबैलाई समस्या उस्तै छ त्यसैले यता बस्न आएको तर यहाँ पनि समस्या कम छैन’, उनले भनिन् ।

सात महिनाकी गर्भवती निसाले भूकम्पको दुई दिनसम्म त राम्ररी खानसमेत पाइनन् । ‘यता आएपछि दाताहरुको सहयोगमा खाना खान पाएकी छु’, उनले भनिन्, ‘बस्न अझै समस्या छ पानी प¥यो भने पालबाटभित्र पस्छ । थाल कता छ भनेर खोज्नुपर्छ पानी थाप्नलाई ।’ चिसोका कारण उनलाई पेट दुख्नेलगायतका समस्या देखा पर्ने गरेको छ ।

अरु सामान्य अवस्थामा भन्दा गर्भवती भएका बेला झन् बढी शौचालयको समस्या हुने गरेको उनी बताउँछिन् ।

पाँच महिनाकी गर्भवती पवित्रा थापाको बास पनि पालमुनि भएको छ । भूकम्प जाँदा कोठाबाट बाहिर निस्कनसमेत नसकेकी पवित्रालाई पछि श्रीमानले उद्धार गरेका थिए ।

त्यसै दिनदेखि उनी पनि पालमुनि नै बसेकी छिन् । एउटा रहेको शौचालयमा मानिस भीड सधैँ भइरहने भएकाले उनलाई पनि शौचालय जान नै समस्या हुने गरेको छ ।

‘अलि टाढा शौचालय भएकाले आउन जान गाह्रो हुन्छ’, उनले भनिन्, ‘अहिले झन् लामखुट्टेले पनि समस्या पार्न थालेको छ । यसका कारण अर्को रोग लाग्ला भन्ने चिन्ता लाग्न थालेको छ ।’

प्रतिक्रिया