त्रास हटाउन प्राकृतिक उपचारको सहारा

काठमाडौं, २२ वैशाख । भूकम्पपीडितहरू विस्थापित भएर टुँडिखेलमा टेन्ट लगाएर बसिरहेका छन् । सैनिक मञ्चअगाडि विभिन्न संस्थाले भूकम्पबाट विस्थापितलाई औषधिउपचार पनि गरिरहेका छन् । त्यहीँ ‘बचौँ र बचाऔँ’ भन्ने टिसर्ट लगाएका केही अभियानकर्ता भूकम्पबाट त्रसितलाई प्राकृतिक उपचार गरिरहेका छन् । उनीहरू परामर्श र हिलिङ विधि अपनाएर भूकम्पबाट अझै तर्सिरहेकालाई स्थिर बनाउन प्रयासरत छन् ।

उत्तर छेउमा आयुर्वेदिक र दक्षिणतिर चिनियाँ सेनाले उपचार गरिरहेको टेन्टमा उनीहरू भने बीचमै भूकम्पबाट प्रभावितलाई उपचार गरिरहेका छन् । टेन्टको बीच भागमा अभियानकर्ता कुर्सीमा बिरामी राखेर उपचार गरिरहेका छन् । भूकम्पपछि अब कसरी जीवन सामान्य बनाउने भनेर चिन्तितलाई यो उपचार सहयोगी बनिरहेको छ ।
‘भूकम्पले भविष्यमा हुनेसक्ने मानसिक रोगबाट जोगाउन उपचार गरिरहेका छौँ,’ ‘बचौँ र बचाऔँ’ अभियानका सञ्जीव पाण्डेले भने, ‘विपत्तिले मानिसमा पछि रोग देखिने भएकाले अहिले नै सर्वसाधारणलाई सचेत गराएका हौँ ।’
‘यस्तो भयले सर्वसाधारणमा पछि रोग देखा पर्छ,’ उनले थपे,‘पछि यस्तो नहोस् भनेर सर्वसाधारणलाई प्राकृतिक विधिबाट उपचार गराइरहेका छौँ ।’ उनले सर्वसाधारणको दिमागमा परेको त्रास हटाउन प्रयास गरिने बताए । भने, ‘पुरानै अवस्थामा ल्याउन यो उपचार विधि प्रभावकारी पनि छ ।’ अभियानमा त्रिभुवन विश्वविद्यालयका मनोविज्ञान विभागका प्राध्यापक पनि छन् ।
उनले उपचारमा आएका ७० प्रतिशत बिरामीमा डर हराएको दाबी गरे । ‘आएका बिरामीमध्ये उपचारपछि पुरानो रूपमा फर्किएर काम गरिहेका छन्,’ उनले भने, उनीहरूमा भूकम्पको डर अझै थियो, तर उपचारपछि सामान्य बने ।’ उनले केही चाहिँ उपचारको तीन दिनपछि सामान्य अवस्थामा आउने बताए ।
उनीहरूले पहिले परामर्श दिने र त्यसले पनि नभए हिलिङ विधिबाट प्राकृतिक उपचार गरिरहेका छन् । १५ मिनेट परामर्श र हिलिङबाट उपचार गर्न आधा घन्टा लाग्छ । हिलिङ विधिबाट शरीरमा रहेका नौचक्रलाई सन्तुलन ल्याउने काम गरिन्छ । केही प्राकृतिक रूपमा रहेका संकेतबाट चक्रलाई सन्तुलनमा ल्याइन्छ । ‘पहिले भूकम्पका कारण डराइरहेकालाई परामर्श दिन्छौँ,’ उनले भने, ‘त्यसपछि पनि नभए अनियन्त्रित भएका चक्रलाई नियन्त्रणमा ल्याउने उपचार गर्छौं ।’
अहिलेसम्म २ सय ५० ले प्राकृतिक उपचार लिइसकेका छन् । उनका अनुसार बच्चा र युवा बढी रोगी भेटिएका छन् । धेरैजसो बिरामी घर नभत्किए पनि जान नसकेका, कुनै काम गर्न असमर्थ, निराश भएक छन् । कोहीलाई निद्रा नलाग्ने र खाना मन नलाग्ने समस्या पनि भेटिएको छ ।

प्रतिक्रिया