पाकिस्तानले साउदीलाई सघाउने

इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले यमनमा जारी रहेको हुथी विद्रोही विरुद्धको कारबाहीमा सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले हाल साउदी अरेबियामा भागेर बसेका यमनी राष्ट्रपति आबेदरब्बो मन्सुर हादीलाई संयमित रहन पनि आग्रह गरेका छन् ।

उनले साउदी अरेबियाको तीन दिने भ्रमण सकेर बिहीबार पाकिस्तानी फर्किएपछि सो धारणा राखेको समाचारमा जनाइएको छ ।उनले साउदी अरेबियामा रहँदा यस विषयमा त्यहाँका राजासँग यस समस्याको बारेमा छलफल पनि गरेका थिए । सो भ्रमणपछि उनी यस निष्कर्षमा पुगेका हुन् ।
पाकिस्तानी विदेश मन्त्रालयले दिएको जानकारीअनुसार साउदी अरेबियाले पाकिस्तानबाट लडाकू विमानका साथै अन्य युद्ध सामग्रीहरू खोजेको थियो । साउदी अरेबियाले विगतदेखि नै पाकिस्तानसँग यस्तो सहयोगको अपेक्षा गरिरहेको थियो । तर, पाकिस्तानले यस विषयमा केही पनि बोलेको थिएन । पाकिस्तानी संसद्ले पाकिस्तान सरकारलाई यस विषयमा तटस्थ रहन आग्रह गरेको थियो । सोहीकारण पनि पाकिस्तान सरकारले यस विषयमा कुनै प्रतिक्रिया दिन सकिरहेको थिएन । प्रधानमन्त्री शरिफको यो प्रतिक्रिया आएपछि पाकिस्तानले हुथी विरुद्धको कारबाहीका लागि सघाउने स्पष्ट भएको छ । तैपनि, संसद्को यसअघिको निर्देशनका कारण यस विषयले पाकिस्तानमा के कस्तो अवस्था लिनेछ भन्ने बारेमा भने अहिले नै यसै भन्न सकिने अवस्था देखिँदैन ।
‘राजनीतिक उद्देश्यका लागि साउदी अरेबियाले हालैका दिनमा यमनमा जारी राखेको कारबाहीमा हामीले समर्थन जनाएका छौं’ प्रधानमन्त्री शरिफले भने । यमनमा विगतका केही दिनदेखि साउदी अरेबियाको सैनिकको नेतृत्वमा आक्रमण जारीरहेको छ । (एजेन्सी)

प्रतिक्रिया