‘सिमल, तिमी असाध्यै राम्री छौ !’ मीठो आवाज हावामा उड्दैउड्दै आएर उसका कानमा ठोक्कियो । ऊ पिचबाटो छाडेर ‘आकाश भवन’ जाने कच्चीबाटामा आफ्नै सुरमा एक्लै
हिँड्दै थी ।
आफ्नो बखान सुनेर एकछिन ऊ अरू युवतीझैँ मख्ख परी । अनि झट्ट उसले आफ्ना चन्चले आँखा त्यस एकलास र चकमन्न गल्छेडाका छेउछाउतिर फाली, तर वरपर कोही देखिएन । हैरानिँदै उसले खोजी आँखा परपर दौडाई, तर टाढैसम्म पनि कोही थिएन । सामुन्ने एउटा रूखचाहिँ थियो, हावासँग मस्त हल्लिँदो र मस्किँदो । बोलचालमा शिरीष भनिए पनि ज्याकरन्डा नामक त्यो रूख नजिकै ठिंग उभिएको थियो, लटरम्मै फुलाएका नीला–नीला फूल भुइँभरि झारेर । भुइँमा झरेका फूललाई दुख्छ कि भनेर हलुका पयरले कुल्चिँदै ऊ ज्याकरन्डाको त्यस रूखका छेउमा गई । आडमा कोही लुकेको छ कि भनी सतर्क भएर ऊ त्यसका वरिपरि घुमी, तर त्यहाँ पनि कोही थिएन । अलिकति आत्तस र अलिकति आश्चर्यमा परेर उसको मुटु थोरै ढुकढुकियो । एक सासमा उसका मनमा प्रश्न उब्ज्यो, ‘के यो रूख बोलेको हो त ?’ अर्को सासमा उत्तर पनि उसकै मनमा उब्जिहाल्यो, ‘रूख पनि बोल्छ कहीँ ?’
रूखमा उक्लेर कोही बसेको छ कि भनी उसले मुन्टो उचालेर माथिसम्म हेरी, तर त्यहाँ भर्खर हाँगा टेकेर पखेटा पट््याउँदै गरेको एउटा सेतो बकुल्लाबाहेक अरू केही देखिएन । झर्किँदै र झिजिँदै नाकमुख खुम्च्याएर ऊ बर्बराई, ‘राम्री छु, के गरौँ त ?’
‘त्यसरी नझर्क सिमल, बरू आफ्ना दिव्य सौन्दर्यमा आफू पनि रमाऊ र अरूलाई पनि रमाउन देऊ न ।’ कुनै अज्ञात कुनाबाट तरंगिँदै आएको उही मीठो आवाज वातावरणमा दोहोरियो । ‘उस् !’ उसले गर्वसाथ टाउको उचालेर फूतिसँग अघाडि डेग सारी । त्यस बाटामा आठ÷दस डेगअघि ज्याकरन्डाको दोस्रो रूख थियो । त्यसको छहारीमा पुग्नासाथ मीठो मुरली बज्यो, ‘हेरेर हिँड सिमल, ठेस लाग्ला ।’
त्यो आवाज केटीको होइन केटाको हो भन्नेतर्फ बल्ल उसको ध्यान गयो । फेरि उसले गहिरै गरी चारैतिर हेरी र रूखका पछाडि गएर पनि राम्ररी नियाली । वरिपरि सुनसान थियो, उजाडिएको बस्तीजस्तै रित्तोपन थियो । अनि उसले रूखमाथि कोही छ कि भनेर आँखा मास्तिर उचाली । साँझ पर्न–पर्न लागेकाले काला–काला केही काग गुँडमा बास बस्न आइपुगेका थिए, अरू केही थिएन । कसैलाई नदेखेर रूखसँगै मुर्मुरिँदै ऊ फतफताई, ‘मेरा आँखा आलुका गेडा होइनन्, म बाटो ठम्याएर ठेस नलाग्ने गरी हिँंड्न सक्छु ।’
‘कमलजस्ता आफ्ना बडाबडा आँखालाई आलुका गेडा नभन सिमल, चित्त दुख्छ ।’ रूखका फिरफिर हल्लिरहेका पातलाई छिचोल्दै स्नेहपूर्ण स्वरको झरी तलतिर ओहिरियो । ‘उस् !’ खुट्टा बजार्दै ऊ अघि बढी । ऊ हिँड्दै गरेका बाटामा आठ÷दस डेग अघि ज्याकरन्डाको तेस्रो रूख बाक्लै फूल ओढेर ठडिएको थियो । ऊ त्यसका छेउछाउ पुग्दा उही मीठो आवाज उसका कानमा गुन्जियो, ‘ए सिमल, रिसाउन्नौ भने तिमीलाई अलिकति माया गरौँ है ?’ यसपटक उसले त्यो आवाज कतै सुनेकी हो कि भनेर निकै गौड गरी, तर केही ठम्याउन सकिन । छक्क परेर उसले यताउति अनि रूखका हाँगाबिँगातर्फ पनि हेरी । कुनै–कुनै हाँगामा साँझ बास बसेका चरा चिरबिर गर्दै थिए । रूखलाई एक लात हानेर ऊ रीसमा मुर्मुरिँदै गनगनाई, ‘अनुहार न सनुहार, बडो आयो माया गर्न ।’
‘सिमल, माया गर्न सुन्दर अनुहार होइन, सफा मुटु चाहिन्छ ।’ ‘उस् !’ फन्किँदै उसले त्यहाँबाट डेग चाली । ऊ ठमठम गर्दै ज्याकरन्डाको चौथो रूखछेउ पुगेकी मात्र के थी, उसको टाउकामाथि उही मीठो आवाज पोखियो, ‘नरिसाऊ न सिमल, तिमीलाई रिसाएको कत्ति सुहाउँदैन ।’
उसलाई फेरि त्यो आवाज कतै सुनेजस्तो लाग्यो । केही बेर गमेपछि भर्खरभर्खरै त सुनेको हो भन्ने टुंगा्मा ऊ पुगी । यस्ता आकाशवाणी त उसले महाभारतका कथामा मनग्ये पढेकी थी, अहिले साक्षात् बेहोर्दा ऊ रुनु न हास्नुको अनौठो अलमलमा परेर भुट्भुटिई, ‘म रिसाऊँ कि खुसाऊँ, कसैलाई के मतलब ?’ ‘मतलब छ, सिमल ! सुन, रिसाउँदा तिमीजस्ती सुन्दरीको रगत जल्छ र त्यसो हुँदा मजस्ता सौन्दर्यप्रेमीको मुटु फाट्छ क्या ।’ ‘उस् !’ भन्दै झर्केर ऊ अघि बढी, तर दुई डेग हिँडेर रोकिई । रोकिएर उसले चारैतिर आँखा डुलाई, तर त्यहाँ कतै पनि मानिसको नामनामेसी नै नदेखेर ऊ झन् जिल्लाराम भई । बेसरी झिँजिएर उसले एकछिन आफ्ना दुवै खुट्टा ठाउँको ठाउँ बजारिरही । निरिह आँखाले उसले रूखको माथिसम्म हेरी, एउटा हाँगामा जोडी ढुकुर चुच्चामा चुच्चा बझाउन व्यस्त थियो । त्यो देखेर उसलाई आफ््ना मनमा काउकुतीजस्तो पनि लाग्यो र रीस–रीस पनि उठ्यो । निधारमा सत्र गाँठा उमारेर उसले खाउँलाजस्तो गर्दै केहीबेर रूखलाई हेरी र मुड्की उचालेर त्यसलाई बेसरी हानी । त्यसपछि भनन्न भन्किँदै ऊ त्यहाँबाट अघि सरी । केही पर ज्याकरन्डाको पाँचौँ र अन्तिम रूख उसैलाई पर्खेर उभिएको थियो । त्यहाँ पुग्नुअघि ऊ एकछिन अडिई, उसले यताउति पल्याकपुलुक हेरी र कोही नदेखिए पनि चारैतिर बडाबडा आँखा नचाउँदै ऊ रूखका फेदमा पुगी । ऊ त्यहाँ पुग्नासाथ उही मीठो स्वर उर्लियो, ‘सिमल, अब हाम्रो भेट कहिले होला ?’ यसपटक उसले केही सोचिन र कतै हेरिन पनि । लामा–लामा फड्का हालेर सरासर ऊ ‘आकाश भवन’ लेखिएको सामुन्नेको ठूलो गेटमा गई । त्यहाँ पुगेर मुसुक्क हास्दै गेट ठेलेर ऊ खुसीका साथभित्र छिरी ।
…
ऊ उदासीमा रंगिएर ‘आकाश भवन’को त्यही गेटबाट भारी डेग चालेर बाहिरिई । उसका रोएका आँखा गुराँसझैँ राता थिए । सुस्त–सुस्त पाइला सार्दै रूखनिर पुगेर ऊ ठिंग उभिई । बेसरी फूल फुलाएर नीलाम्मे भएको ज्याकरन्डाको त्यो रूख उताबाट आउँदा पाँचौँ थियो भने यताबाट जाँदा पहिलो । आँसु पुछेर दरो हुँदै रूखको टुप्पातिर तीखा आँखा फाली ऊ क्रुद्ध बघिनीझैँ चर्कोसँग गर्जी, ‘आकाश, ए आकाश..!’
‘भन, सिमल !’ टुप्पाबाट उही मीठो स्वर तप्कियो । ऊ एकदमै झिँजिएर चिच्याई, ‘आकाश, मीठो खालको नक्कली बोली बोल्ने नौटंकी छाडेर आफ््नै स्वरमा बोल ।’
‘हुन्छ सिमल, स्वाँस्वाँ…!’ स्वर बदलियो र मीठो बोलीका सट्टा दमको स्वाँस्वाँमा फेटिएको झीनो स्वर सुनियो । बदलिएको स्वर अपरिचित थिएन, उसले बाल्यकालदेखि नै मायालु दौंतरी आकाशका मुखबाट सुन्दै आएको स्वर थियो । एक्कासी ऊ कसौँडीको भातझैँ फतफत पाकी, ‘आकाश, तिमीले मलाई फोन गरी–गरी यहाँ बोलाएको के यिनै चमेराझैँ रूख–रूखमा झुन्ड्याएर राखेका सिसी क्यामेरा र डिजिटल माइकसँग कुरा गर्न हो ? आकाश, तिमीले आइटीमा उच्च शिक्षा हासिल गरेका हौ भन्ने मलाई था छ, तर के तिमीले मलाई बोलाएको यही नेट र कम्प्युटरको साइबरजालमा अल्झाएर रनभुल्ल तुल्याउन मात्र हो ?’ ‘होइन सिमल, तिमीलाई मबाट मुक्ति दिन…!’ ‘वाहियात !’ रूखो स्वर काढ्दै टाउको झड्कारेर ऊ अघि बढी । दोस्रो रूखछेउ पुगेर मोटो फेदमा हत्केला राखी औँलाका लामा र तीखा नङले एकछिन आलो बोक्रो कोतरेपछि ऊ सुसाई, ‘आकाश, तिमीले गेटभित्र छिर्नासाथ मलाई अर्कै कसैसँग बिहे गर भन्ने क्रुर निर्णय सुनायौ र त्यहीँबाट लघारेर गेटबाहिर निकाल्यौ, किन ?’
‘भनिहालेँ नि…स्वाँस्वाँ…तिमीलाई मुक्ति दिन ।’ ‘कस्तो मुक्ति दिन ?’ ‘अपांग भएर म तिम्रो योग्य नरहेकाले मेरा अशक्त मायाबाट तिमीलाई मुक्ति दिन ।’ ‘त्यो मुक्ति होइन, तिम्रो भावुकता हो ।’ ‘होइन सिमल, मेरो अंगभंग..!’ ‘आफ््ना अंगभंगको बढी दुहाइ नदेऊ आकाश, तिमी मनमा कत्ति पनि दया नभएका लाछी हौ लाछी ।’ भन्दै ऊ बत्तिएर दौडी । ऊ तेस्रो रूखबाट तर्केर अघि जानै लागेकी थी, माथिबाट पाकेको फलझैँ झरेको आवाज उसका वरिपरि छरियो, ‘सिमल, सुन !’
रोकिएर उसले किटिट्ट दाँत पिसी, ‘अब सुन्नु के नै छ र ?’ ‘म लाछी होइन सिमल, अपांग हुँ ! सुन, मजस्तो अपांगले तिमीलाई दासीझैँ आफ्ना काममा जोतेर जीवनभरि दुःख त दिनसक्छ, तर सुख कहिल्यै दिन सक्दैन !’ ‘मलाई था छ आकाश, देशमा हिंसात्मक द्वन्द्व र सशस्त्र युद्ध मच्चाउन भोकाएकाहरूले गराएको बम विस्फोटमा परेर तिमीले एउटा खुट्टा र एउटा हात गुमायौ । त्यस दौरान तिमी र तिमीजस्ता थुप्रैले ज्यान गुमाएर, बेपत्ता पारिएर, विस्थापन गरिएर अथवा विकलांग तुल्याइएर चुकाएको मूल्यका सट्टा देशमा न शान्ति कायम, भो न सुव्यवस्था बहाल भो र न सच्चा लोकतन्त्र नै आयो । कस्तो विडम्बना, सत्तालोलुपहरूले लुछाचुँड गरेर देशलाई रगतपच्छे मात्र पारे ! यस कुरालाई यहीँ छाडेर आकाश, म तिमीसित एउटा प्रश्न सोध्छु ।’ ‘सोध, स्वाँस्वाँ…!’ रूखबाट झरेको आवाजसँगै फोक्साको स्वाँस्वाँ पनि बढेर गयो । ‘भन आकाश, विस्फोटमा एउटा हात र एउटा खुट्टा गुमाउँदैमा के तिमी मानिसको जुनीबाट अर्कै जुनीमा पुग्यौ त ?’
‘त्यसो किन हुन्थ्यो, म मानिसै रहेको छु ।’ ‘त्यसोभए तिमीले बच्चाबेलादेखि हामीबीच हुर्केको प्रेमको नाता टुटाएर मलाई अर्कैसँग बिहे गर्न किन भन्यौ त ?’
‘मजस्तो अशक्तसँग जोडिएर तिम्रो जीवन पंगु नबनोस् भनेर ।’ बोलीभन्दा स्वाँस्वाँ चर्को हुँदै गयो । ‘आकाश, अब म एउटा कटु सत्य भनूँ ।’ ‘भन’ ‘तिमीलाई भित्रभित्रै आफ््नोभन्दा मेरो विकलांगता असह्य भएको हुनुपर्छ । छोरी कुटेर बुहारी तर्साउने नीति अँगालेर तिमीले आफू अपांग छु भन्ने निहुँ पारी म अपांगलाई पन्छाएका हौ, मसँग जोडिएर तिम्रो आफ््नो जीवन बर्बाद नहोस् भनेर’ भन्दाभन्दै आँखा टिलपिल पारेर ऊ त्यहाँबाट तोडले हुर्रिई ।
चौथो रूखमा पुगेर उसले त्यसमा घमलंग छाँद हाली । त्यसै बेला टुप्पामा तरंगित आवाज सोझै जरातिर झ¥यो, ‘स्वाँस्वाँ…सिमल, त्यो तिम्रो विकलांगता होइन, बरू मानसिक आघात हो । सशस्त्र विद्रोह गर्नेहरूले हातगोडा बाँधेर तिमीलाई बाध्य पारी तिम्रै आँखाअघि आमाबुबालाई नृशंस पाराले छ्याकछ्याक काटेर मारेको हुँदा… स्वाँस्वाँस्वाँ…तिमी मानसिक रूपले आघातित भएकी थियौ, विकलांग भएकी होइनौ । अनि आफ््नै आँखाअघि निष्ठुर लडाकूहरूले निर्ममतापूर्वक घर जलाएर सर्वस्व खरानी पारिदिएको हुँदा तिमी झन् आघातित भएकी…स्वाँस्वाँ…।’
‘हो आकाश, त्यस कडा आघातले अझै पनि बेलाकुबेला छोपेर मलाई आतंकित पारिरहन्छ । मलाई था छ, कडा आघातकी सिकार एउटी युवती कुनै पनि बेला बौलाउन सक्छे भनेर मलाई घाँडो ठानी तिमीले पन्छाएका हौ । आफ््नो अपांगताको कारण देखाई तिमीले मीठो पाराले मलाई पन्छायौ, ठूलो छल ग¥यौ आकाश !’ ‘होइन सिमल, म तिमीसँग…स्वाँस्वाँ…आफ््नै मायासँग छल गर्न सक्छु र ?’
‘त्यसोभए आकाश, ती निर्दयी छापामारले मेरा आमाबुबालाई मारेर आगो लगाई घर डढाएपछि सामूहिक बलात्कारद्वारा मेरो शरीर कलंकित पारेका हुँदा तिमीले मलाई पन्छाएका हौ त ?’ भनेर ऊ हुरीबतासझैँ त्यहाँबाट गई ।
‘होइन सिमल, होइन…ऐय्या !’ भन्ने आवाजले उसलाई डेगैपिच्छे पच्छ्याइरह्यो ।
भावविह्वल भएर आफ्नै आवेगमा दौडेकी हुँदा ऊ पाँचौं रूखमा ड्याम्म ठोकिई । त्यसै रनाहामा ऊ चिच्याई, ’होइन भने के हो त ?’‘स्वाँस्वाँ…स्वाँस्वाँ…!’ गारो गरी सास फेरेको आवाज मात्र आइरह्यो । ‘के हो त…? जवाफ चाहियो आकाश, जवाफ !’
‘भन्न त चाहँदैनथेँ सिमल, तर तिम्रो भ्रम आफल्न भन्न बाध्य भएँ । सुन, त्यस विस्फोटमा पर्दा बमका छिर्काले मेरा हात र खुट्टा मात्र होइन जननेन्द्रियलाई समेत छियाछिया पारेका थिए । अहिले म…स्वाँस्वाँ …पुरुषत्वविहीन भएर निरर्थक बाँचेको छु, एकदमै निरर्थक ।’
‘के भनेको त्यो…?’
‘सत्य बोलेको ।’
‘त्यो कुरो सत्य भए पनि माया भनेको शारीरिकभन्दा बढी आत्मिक हुन्छ र हाम्रो माया पनि बढी आत्मिक हो भन्ने किन बिस्र्यौ, आकाश ?’
‘बिर्सेको छैन, तर मेरो जीवन… ऐय्या… आजसम्म मात्रै छ ।’
‘किन ?’
‘मैले सबैबाट र तिमीबाट पनि रोग लुकाएँ…स्वाँस्वाँ, बम लागेको गोप्य ठाउँमा… स्वाँस्वाँ…क्यान्सर फैलिएर…ऐय्या…!’
‘आम्मै !’
‘सिमल, क्यान्सरले म सिकिस्त हुँदै गएपछि डाक्टरले तोकेको मेरो जीवनमितिको आज…स्वाँस्वाँ…अन्तिम दिन हो । उफ्, चर्को दमले अब त सास फेर्न पनि गाह्रो हुन लाग्यो । बिदा सिमल, ऐय्या…!’
‘ओहो आकाश, तिमीले एक्लै कत्ति दुःख सहेछौ ? अब म कतै जान्न…त्यतै तिम्रै छेउ फर्केँ… मलाई पर्ख है…म फिर्ता आएँ आकाश…!’ बहुलाझैँ कराएर ऊ तल झरेका ज्याकरन्डाका नीला–नीला फूलहरू कुल्चिँदै अस्तव्यस्त पाराले आँधीबेहरीझैँ फेरि ‘आकाश भवन’ को गेटतिर दौडी । ऊ त्यसरी दौडिरहँदा पाँचवटै रूखका हाँगामा नदेखिने गरी जडान गरिएका माइकमध्ये हरेकबाट चर्को–चर्को आवाज आइरह्यो, ‘ऐय्याऐय्या… स्वाँस्वाँ…!’
(सामाजिक सञ्जालबाट)
प्रतिक्रिया