रियाद, १० वैशाख । साउदी अरेबियाले गएको करिब चार हप्तादेखि निरन्तर रूपमा यमनमा गरिरहेको हमलाको अन्त्यको घोषणा गरेको छ । यसअघि यमनमा इरानको समर्थनका हुथी विद्रोहीहरूको विद्रोहले चरम रूप लिएपछि यमनमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले हवाई कारबाही
थालेको थियो ।
हुथी विद्रोहीहरूले यमनमा हमला गरी यमनी राष्ट्रपतिलाई नै देश छोडेर सुरक्षार्थ भाग्नुपर्ने अवस्था आएपछि साउदी अरेबियाको सेनाले सो हमला गरेको थियो । हाल यमनी राष्ट्रपति भागेर साउदी अरेबियामा शरण लिइरहेका छन् । उनले नै हुथीहरूविरुद्धको कारबाहीका लागि अरेबियालाई अनुरोध गरेका थिए । उनको आग्रहपछि कारबाहीमा अन्य खाडी राष्ट्रहरूले पनि समर्थन गरेका छन् । कतिपय खाडी राष्ट्रले सो कारबाहीका लागि सेना पनि पठाएका थिए । साउदी अरेबियाले मंगलबार सो मिसनको अन्त्यको घोषणा गरेको हो । उसले यमनमा रहेका हुथी विद्रोहीहरू हालका लागि निर्मूल पारेको दाबी गरेको छ ।
उता संयुक्त राज्य अमेरिकाले यस कार्यको स्वागत गरेको छ । अमेरिकाले सो कार्यको स्वागत गर्दै उक्त समस्याको दिगो समाधानका लागि वार्ताको आह्वान पनि गरेको छ । साउदी अरेबियाको रियादमा रहेका यमनी राष्ट्रपति अबेद्रब्बु मन्सुर हादीले सो कदमलाई आफ्नो जितका रूपमा लिएको पनि समाचारमा जनाइएको छ । उक्त कदमका बारेमा बुधबार प्रसारण गरिएको टेलिभिजन भाषणमा उनले भने, ‘यो हाम्रो जित हो र हामी अब छिट्टै आफ्नै देश फर्किंदैछौँ ।’ अरब राष्ट्रहरूका सुन्नी मुसलमानहरूको सामुहिक संस्थाले यमनमा सो हवाई कारबाहीको सुरुआत गरेको थियो । सुन्नीहरूले सिया मुस्लिमहरूको ज्यादतीका विरुद्धमा भन्दै उनीहरूले सो कारबाही थालिएको बताएका छन् ।
हादीको शासन सत्ताको पुनःस्थापनाका लागि सो हवाई कारबाही गरिएको उनीहरूको दाबी छ । अब यमनमा त्यस्तो खतरापूर्ण अवस्था नरहेकाले आगामी केही दिनमा नै हादी स्वदेश फर्किनुहुने उनीहरूको भनाइ छ । ती हवाई कारबाहीले यमनी राजधानी साना आफ्नो पक्षमा ल्याउने कामका लागि कयौँ मिसाइल हमला गरेको थियो ।
साउदी नेतृत्वको सेनाले सो कारबाहीका क्रममा कम्तीमा पनि दुई हजार पटकसम्म विभिन्न शक्तिशाली मिसाइल र अन्य आक्रमण गरेको जानकारी दिएको छ । त्यस्तै विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार सो कारबाहीमा परी करिब नौ सय ४४ जना व्यक्तिको ज्यान गएको छ । साथै सो कारबाहीका कारण करिब तीन हजार पाँच सय नागरिक घाइते भएका छन् । विशेषतः राष्ट्रपति हादीको कार्यालयलाई लक्ष्य गरी गरिएको हमलामा भएको भौतिक क्षतिको बारेमा भने केही दिइएको छैन । साथै सो कारबाहीमा परी के कति हुथी विद्रोही मारिए र सर्वसाधारण कति परे भन्ने बारेमा पनि केही नबताइएको समाचारमा जनाइएको छ । (एजेन्सी)
प्रतिक्रिया