तेहरान, ७ वैशाख । अफगानिस्तानका राष्ट्रपति मोहमद अस्ररफ घानी आइतबार इरानको राजधानी तेहरान पुगेका छन् । उनी दुई दिनको भ्रमणको क्रममा त्यहाँ पुगेका हुन् । उनले अफगानिस्तानको राष्ट्रपति पद सम्हालेयता इरानको भ्रमण गरेको यो पहिलो अवसर हो । अफगानिस्तानमा शनिबार भएको भीषण आत्मघाती आक्रमणको इस्लामिक स्टेट (आइएस) ले गराएको दावी गरेपछि घानीको यो भ्रमणको छलफल सुरक्षाको विषयमा नै बढी केद्रित हुने अनुमान गरिएको छ । अफगानिस्तानको पूर्वी सहर जलालाबादमा शनिबार भएको एक आत्मघाती आक्रमणमा परी ३३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक सयभन्दा बढी घाइते भएका थिए ।
आक्रमणको आइएस लडाकू समूहले जिम्मा लिएको आइएसका प्रवक्ताले एएफपी समाचार समितिलाई बताएका बताइएको छ । राष्ट्रपति घानी दुई दिनको भ्रमणको क्रममा आइतबार इरान पुगेको इरानको आधिकारी समाचार समिति इर्नाले जानकारी दिएको छ ।
टेलिभिजनले अस्ररफलाई सआदाबाद भवनमा उनका समकक्षी हसन रौहानी र उच्च स्तरीय पदाधिकारीले स्वागत गरेको देखाएको छ । गत सेप्टेम्बरमा अफगानिस्तानको राष्ट्रपति पद सम्हालेका घानीसँग विदेश मन्त्री र इन्धन तथा खनिज मन्त्री पनि साथमा गएको बताइएको छ । पूर्वी अफगानिस्तानको जलालावाद सहरमा सरकारी बैंकमा शनिबार गराइएको आत्मघाती आक्रमण गत नोभेम्बरयताको भीषण आक्रमणको रुपमा रहेको छ । आक्रमणमा परी मारिनेहरूमा अधिकांश सरकारी कर्मचारी नै परेका बताइएको छ । बैंकमा सरकारी कर्मचारीले मासिक तलब लिनका लागि जम्मा भइरहेका समयमा सो हमला भएको थियो । आइएस लडाकू समूहका प्रवक्ताले एएफपी समाचार समितिलाई टेलिफोनबाट सो घटनाको दाबी गरेको जनाइएको छ । घाइतेमध्ये कैयाँैको अवस्था गम्भीर भएको हुनाले मृतकको संख्या पनि बढ्नसक्ने बताइएको छ ।
पछिल्लो समय अफगानिस्तानका तालिवानहरूले त्यहाँका सरकारी कार्यालय र सुरक्षा निकायमा यस्तो आक्रमण केन्द्रित गर्ने गरेका थिए भने हाल आइएस लडाकू पनि थपिएको छ । सन् २०१४ को अन्त्यसँगै अफगानिस्तानबाट नेटो सैनिकले अफगानिस्तान छोडिसकेका छन् । सो घटनापछि तालिवानले पनि सरकारी कार्यालय र कर्मचारीमा यस्तो आक्रमण केन्द्रित गरिरहेको बताइएको छ ।
प्रतिक्रिया