
काठमाडौं । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले हाल कार्यान्वयनमा रहेका विभिन्न ऐन कानुनको कार्यान्वयन अवस्थाको अध्ययन सुरु गरेको छ । समितिद्वारा गठित ‘ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमिति’ले संघीय विभिन्न ऐन कार्यान्वयन अवस्थाबारे अध्ययन थालेको हो ।
समितिले त्यसका लागि सांसद डा अञ्जान शाक्यको संयोजकत्वमा सांसद खम्बहादुर खाती, झक्कुप्रसाद सुवेदी, कृष्णप्रसाद सिटौला, राजेन्द्रलक्ष्मी गैह्रे, रामकुमारी झाँक्री र विष्णुदेवी पुडासैनी सदस्य रहेको उपसमिति गठन गरेको थियो ।
समितिका सभापति कृष्णबहादुर रोकायको सभापतित्वमा यही साउन ४ गतेको बैठकले उक्त उपसमिति गठन गरेको थियो । उपसमितिका संयोजक डा शाक्यले समितिबाट प्राप्त जिम्मेवारीअनुसार उपसमितिको पहिलो बैठक भई कार्यविधि तर्जुमासहित अध्ययनको काम आरम्भ गरिएको बताइन् ।
उपसमितिलाई नेपालमा हाल कार्यान्वयनमा रहेका कानुन अध्ययन गरी ऐन कार्यान्वयन मापन गर्न उपयुक्त ऐन वा ऐनका कुनै दफा वा कुनै व्यवस्था प्राथमिकतासहित सिफारिस गर्न कार्यक्षेत्र तोकिएको छ ।
यस्तै, ऐन कार्यान्वयन मापनका सम्बन्धमा कम्तीमा तीन वटा मुलुकको अभ्यास अध्ययन गर्न, आवश्यकताअनुसार सम्बधित सरोकारवालासँग छलफल गर्न र ३० दिनभित्र समितिसमक्ष प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको समितिका सभापति रोकायले जानकारी दिए । समितिले विधायिकी अन्तरसम्बन्ध अध्ययन गरी सिफारिस गर्न सांसद सुरेश आलेमगरको संयोजकत्वमा बेग्लै उपसमिति पनि गठन गरेको छ ।
प्रतिक्रिया