बीपी स्मृति दिवसमा कांग्रेसभित्रको विभाजन सतहमा : देउवा–खड्का र संस्थापन पक्षकाे छुट्टा छुट्टै कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक गुटबन्दी र विभाजनको संकेत अझै देखिएको छ । पार्टी एकता, मेलमिलाप र सहकार्यको सन्देश प्रवाह गर्नुपर्ने विशेष दिनमा नै कांग्रेसका दुई मुख्य ध्रुवहरू एउटै मञ्चमा नउभिएर समानान्तर कार्यक्रममा सीमित देखिएका हुन् ।

बुधबार पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले काठमाडौ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमामा आयोजना गरेको ‘संवाद, सहमति र एकता’ विषयक विचार गोष्ठी तथा बीपी स्मृति सभामा संस्थापन पक्षको पूर्ण बहिष्कार जस्तै रह्यो । उक्त कार्यक्रममा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत संस्थापन पक्षका शीर्ष पदाधिकारी तथा केन्द्रीय सदस्यहरू सहभागी भएनन् ।

यसअघि आजै बिहान संस्थापन (सभापति गगन थापा) पक्षले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयको संयोजनमा युएन पार्कदेखि जावलाखेलसम्म आयोजना गरेको ‘ग्रिन रन’ जलवायु जनचेतना दौड तथा जावलाखेलमा आयोजना गरिएको बीपी स्मृति कार्यक्रममा पनि इतर पक्षका देउवा–खड्का समूहका नेताहरू अनुपस्थित रहेका थिए ।

पार्टीभित्र विशेष महाधिवेशन र आगामी नीतिगत दिशालाई लिएर संस्थापन र इतर पक्षबीच केही समययता तिक्तता बढ्दै गएको छ । प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवा–खड्का पक्षका नेताहरूले पार्टीलाई विधान र थिति अनुसार चलाउन नसकिएको भन्दै वर्तमान नेतृत्वको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाएका छन् ।

अर्कोतर्फ, संस्थापन पक्षले भने पार्टीलाई नयाँ ढंगबाट पुनर्गठन गर्न र जनकेन्द्रित मुद्दामा लैजान नयाँ अभियान सुरु गरिएको दाबी गर्दै आएको छ ।

बीपी कोइरालाले जीवनभर लडेको राष्ट्रिय मेलमिलाप र पार्टी एकताको आदर्शलाई सम्झिने दिनमा नै पार्टीका दुई मुख्य गुटले शक्ति प्रदर्शनका रूपमा छुट्टा छुट्टै कार्यक्रम गरेपछि आम कार्यकर्ता पंक्तिमा भने निराशा छाएको छ । दुवै पक्षका कार्यक्रममा नेताहरूले एकताको भाषण गरे पनि व्यवहारमा भने विभक्त कांग्रेसको दृश्य स्पष्ट रूपमा देखिएको छ ।– तस्विर नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया